कोलकाता: ममता बनर्जी ले लोकसभामा महिला आरक्षणसम्बन्धी विधेयक पारित हुन नसकेपछि भारतीय जनता पार्टी (भाजपा)माथि तीव्र आलोचना गरेकी छन्। उनले भाजपाको पतन सुरु भइसकेको दाबी गरेकी छन्।
पश्चिम बंगाल विधानसभा चुनावको सन्दर्भमा हावडाको उलुबेरियामा आयोजित सभालाई सम्बोधन गर्दै बनर्जीले भाजपा आफ्नो बलमा बहुमत ल्याउन नसकेको र सहयोगी दलको सहारामा मात्र सत्तामा रहेको आरोप लगाइन्।
लोकसभा र राज्य विधानसभामा महिलाका लागि ३३ प्रतिशत आरक्षण सुनिश्चित गर्ने संविधान संशोधन विधेयक पारित हुन आवश्यक दुई-तिहाइ बहुमत जुट्न सकेन। उक्त विधेयक २०२९ देखि कार्यान्वयन गर्ने प्रस्ताव गरिएको थियो।
बनर्जीले आफ्नो दल तृणमूल कांग्रेस ले महिलालाई पर्याप्त प्रतिनिधित्व दिएको दाबी गरिन्। उनका अनुसार लोकसभामा तृणमूलका ३६ प्रतिशत र राज्यसभामा ४६ प्रतिशत सदस्य महिला छन्।
उनले भाजपा देशलाई विभाजनतर्फ लैजान खोजिरहेको आरोपसमेत लगाइन् र महिलाको प्रतिनिधित्वका सवालमा आफ्नो दलबाट सिक्न सुझाव दिइन्।
पश्चिम बंगालमा विधानसभा चुनाव दुई चरणमा हुँदैछ। पहिलो चरणको मतदान वैशाख ११ (अप्रिल २३) र दोस्रो चरण वैशाख १७ (अप्रिल २९) मा हुने तय भएको छ भने मतगणना वैशाख २१ (मे ४) मा हुनेछ।










