गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको ५१औँ राज्य स्थापना दिवसका अवसरमा राज्यवासीलाई हार्दिक शुभकामना तथा मंगलमय शुभेच्छा व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भारतको २२औँ राज्यका रूपमा सिक्किमले तय गरेको ऐतिहासिक यात्राको स्मरण गर्दै राज्यको अनुपम प्राकृतिक सौन्दर्य, जीवन्त परम्परा तथा कञ्चनजङ्घाको भव्य उपस्थितिले सम्पूर्ण राष्ट्रलाई प्रेरित गरिरहेको बताएका छन्।
उनले दिगो विकास, जैविक खेती, वातावरण संरक्षण तथा सामाजिक सद्भावप्रतिको सिक्किमको प्रतिबद्धताले राज्यलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गरेका छन्।
मुख्यमन्त्री तामाङले हालै सम्पन्न सिक्किम भारतसँग एकीकरण भएको ५० वर्ष पूरा भएको स्वर्ण जयन्ती समारोहको पनि स्मरण गरेका छन्। वर्षभरि सञ्चालन गरिएको उक्त समारोहले शान्ति, लोकतन्त्र, सांस्कृतिक गौरव तथा प्रगतिशील विकासतर्फ सिक्किमले गरेको उल्लेखनीय यात्रालाई प्रतिबिम्बित गरेको उनले बताएका छन्।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सिक्किमले विकासको नयाँ उचाइ हासिल गरेको उल्लेख गर्दै स्वर्ण जयन्ती समारोहको समापन कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिले राज्यवासीमा थप गौरव र उत्साह थपिएको बताएका छन्।
यस विशेष अवसरमा मुख्यमन्त्रीले अनुशासन, एकता तथा जिम्मेवारीको भावनालाई अझ सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन्। साथै राष्ट्र तथा राज्यको व्यापक हितका लागि प्रधानमन्त्रीद्वारा आह्वान गरिएको मितव्ययितासम्बन्धी उपायहरूलाई समर्थन गर्न पनि उनले आग्रह गरेका छन्।
मुख्यमन्त्रीले राज्य स्थापना दिवसले सिक्किमवासीबीच एकता र प्रगतिका भावनालाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण जनतालाई शान्ति, समृद्धि, सुख तथा आगामी वर्षहरूमा अझ ठूलो सफलताको शुभकामना दिएका छन्।










