​सिक्किमकी छोरी अञ्जली अधिकारी बनिन् कमर्सियल पाइलट

542e78d7-d445-4ddc-b838-771ba86a0b06

मुख्यमन्त्री गोलेद्वारा हार्दिक बधाई ज्ञापन

गान्तोक: सिक्किमका युवाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभाको पहिचान बनाउने क्रममा पाकिम जिल्ला अन्तर्गत नाम्चेबोङ, नवगाउँ निवासी अञ्जली अधिकारीले राज्यकै नाम उच्च पारेकी छन्। अञ्जलीले राजस्थानस्थित ‘अभ्याना एभिएसन एकेडेमी’ बाट आफ्नो कमर्सियल पाइलट ट्रेनिङ (व्यावसायिक विमान चालक प्रशिक्षण) सफलतापूर्वक पूरा गरेकी छन्।
​एकल आमा ममता बस्नेतकी छोरी अञ्जलीको यस ऐतिहासिक सफलताले उनको परिवार मात्र नभएर सम्पूर्ण सिक्किम राज्यलाई नै गौरववान्वित तुल्याएको छ। अञ्जलीको यो यात्रा यहीँ रोकिने छैन, उनी व्यावसायिक एयरलाइन्सको मुख्य पाइलट बन्ने आफ्नो यात्राको अर्को महत्त्वपूर्ण खुड्किलो पार गर्न चाँडै नै बैंकक (थाइल्याण्ड) प्रस्थान गर्दैछिन्। त्यहाँ उनले ‘एक्रोन एभिएसन बैंकक’ बाट ‘ए३२० टाइप रेटिङ’ कोर्स पूरा गर्नेछिन्।
​अञ्जलीको यस उदाहरणीय सफलताप्रति खुसी व्यक्त गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सामाजिक सञ्जाल मार्फत हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्रीले भन्नुभएको छ:
​”हाम्रा युवा प्रतिभाहरूले आफ्नो रोजेको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको र आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको देख्दा मलाई अत्यन्तै खुसी र गर्व लागेको छ। सिक्किम सरकार अञ्जलीजस्ता प्रतिभाशाली र योग्य व्यक्तिहरूका लागि सहयोगी वातावरण सिर्जना गर्न, उनीहरूलाई अवसर, प्रोत्साहन र आवश्यक सहयोग प्रदान गर्दै आफ्ना सपनाहरू पूरा गर्न सक्षम बनाउन पूर्ण रूपमा प्रतिबद्ध छ।”
​मुख्यमन्त्री गोलेले अञ्जली अधिकारीको उज्ज्वल भविष्यको कामना गर्दै उनी आगामी दिनमा अझ उच्च उडान भर्न सफल रहून् र राज्यका अनगिन्ती युवाहरूलाई आत्मविश्वास र समर्पणका साथ आफ्नो सपना पछ्याउन प्रेरित गरिरहून् भनी शुभेच्छा प्रकट गर्नुभएको छ।

About Author

Advertisement