गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग आज राजभवन (लोकभवन) मा पाकिम जिल्ला अन्तर्गत रम्फू प्राथमिक स्वास्थ्य केन्द्रकी वरिष्ठ एएनएम मधुमाला गुरुङले शिष्टाचार भेट गरेकी छन्। स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि उनी हालै मात्र नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुको बाहुलीबाट प्रतिष्ठित ‘राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२६’ द्वारा सम्मानित भएकी हुन्।
भेटघाटका क्रममा राज्यपाल माथुरले एएनएम गुरुङलाई उनको यो उल्लेखनीय र गौरवमय उपलब्धिको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। राज्यपालले स्वास्थ्य सेवाको क्षेत्रमा श्रीमती गुरुङले विगत ३८ वर्षदेखि निरन्तर रूपमा पुर्याउँदै आएको समर्पित सेवा, लगनशीलता र योगदानको उच्च सराहना समेत गरे।









