मुम्बई: कलाकारहरूको लोकप्रियतासँगै अतिरिक्त सतर्कताको आवश्यकता पर्छ नै। त्यसका बाबजुद कहिलेकाहीँ अप्रत्याशित घटनाहरू पनि घट्ने गर्छन्। हालै यस्तै अवस्थाको सामना बलिउडका लोकप्रिय अभिनेता गोविन्दाले गर्नुपर्यो। एक कार्यक्रममा छायाकारहरूसँग उनका अंगरक्षकको विवादका कारण केही समय तनावपूर्ण वातावरण सिर्जना भयो।पछि अभिनेता स्वयंले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिए। हालै ‘मिसेस इन्डिया क्विन मेरी सत्र ४’ को भव्य समापन समारोहमा गोविन्दा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रम समाप्त भएपछि उनी बाहिर निस्कने क्रममा प्रशंसक र छायाकारहरूको ठूलो भीडले उनलाई घेरेको थियो।यही क्रममा तस्वीर खिच्ने विषयलाई लिएर अचानक अफरा–तफरीको अवस्था सिर्जना भयो। समाज सञ्जालमा सार्वजनिक भएको एक दृश्यमा भीड नियन्त्रण गर्ने क्रममा गोविन्दाका एक अंगरक्षक त्यहाँ उपस्थित एक छायाकारसँग विवादमा उत्रिएको देखिन्छ।आरोपअनुसार ती छायाकारलाई धक्का समेत दिइएको थियो। छायाकारले “यसरी किन हात लगाउनुभएको?” भन्दै प्रश्न गरेको सुनिन्छ। स्थिति तनावपूर्ण बन्दै गएपछि गोविन्दा तुरुन्त अघि आए। उनले आफ्नो अंगरक्षकलाई शान्त रहन आग्रह गर्दै छायाकारतर्फ इशारा गरेर भने, “उहाँ मेरो मित्र हुनुहुन्छ।” त्यसपछि अभिनेताले सार्वजनिक रूपमा ती छायाकारसँग क्षमायाचना पनि गरे।घटनापछि अवस्था सामान्य बनेपछि गोविन्दा आफ्नो गाडीमा प्रस्थान गरे। अभिनेताको व्यवहारबाट त्यहाँ उपस्थित प्रशंसकहरू निकै प्रभावित भएका थिए। समाज सञ्जालमा पनि उनको व्यवहारको खुलेर प्रशंसा भइरहेको छ।एक प्रशंसकले लेखेका छन्, “गोविन्दा अत्यन्त शान्त स्वभावका व्यक्ति हुन्।” अर्का एकजनाले टिप्पणी गरेका छन्, “उहाँ निकै दयालु हुनुहुन्छ। उहाँले जसरी स्थिति सम्हाल्नुभयो, त्यो साँच्चिकै प्रशंसनीय छ।” अर्का एक प्रशंसकले उनलाई “अत्यन्त व्यावसायिक अभिनेता” भनेर उल्लेख गरेका छन्।











