हाम्रो सीमाना केवल खोलाले मात्रै छुट्टाएको छ तर सामाजिक रूपमा आईपर्दा हामी सबै एकसाथ हुन्छौं अनि एकले अर्कालाई सहयोग गर्न तयार छौं: मुख्यमन्त्री गोले
दार्जिलिङ: सिक्किमका मुख्यमन्त्री पीएस गोले दार्जिलिङको प्रतिष्ठित सेन्ट जोसेफ स्कूलको एउटा कार्यक्रममा भाग लिन मुख्य अतिथिको रुपमा दार्जिलिङ आइपुगेका छन्। सिक्किमको मुख्यमन्त्री पीएस गोलेसँग मन्त्री मण्डलका केही अन्य मन्त्रीहरु पनि साथमा आएका छन्। उनी कुनै राजनैतिक कार्यक्रममा होइन तर अराजनैतिक रुपमा शैक्षिक कार्यक्रममा भाग लिनलाई दार्जिलिङ आइपुगेका छन्। यसावधि सिक्किमको मुख्यमन्त्री पीएस गोले र उनके पुत्रलाई पनि स्कूलको पक्षबाट सम्मान गरिएको जानकारी प्राप्त भएको छ। सन्त जोसेफ स्कूलको उक्त कार्यक्रममा बोल्दै सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आज आफु कुनै राजनैतिक भ्रमणमा आएको होइन तर शैक्षिक कार्यक्रममा यस विद्यालयको पूर्व विद्यार्थीहरूको अभिभावकको रुपमा उपस्थित भएको र मलाई राजनैतिक रूपमा कुनै हस्तक्षेप गर्नु छैन भनी बताएका छन्।

उनले हाम्रो सीमाना केवल खोलाले मात्रै छुट्टाएको छ तर सामाजिक रूपमा आईपर्दा हामी सबै एकसाथ हुन्छौं अनि एकले अर्कालाई सहयोग गर्छौं कारण हाम्रो लुगा लगाई, खानपान, बोली सबै एकै छ भनी बताएका छन्। मुख्यमन्त्री गोलेले सामाजिक रुपमा केही आवश्यक परे म मेरो व्यक्तिगत रूपमा सहयोग गर्न तयार छु भन्दै म मात्रै होइन सिक्किमे जनता पनि तयार रहेको बताएका छन्। उनले आफु पनि दार्जिलिङको सरकारी महाविद्यालय पढ़ेको कुराहरू र आफुले दार्जिलिङमा बिताएका पुराना दिनहरूका सम्झना गर्दै आफ्नो दुई छोराहरू यही स्कूलमा पढेको बताउँदै आफु धेरैपल्ट दार्जिलिङ आईरहेको कुरा उल्लेख गर्दै सन् २०१९ मा सरकार बनाएर मुख्यमन्त्री बनेपछि भने आफु पहिलोपल्ट दार्जिलिङ आएको बताएका छन्।

सिक्किमको मुख्यमन्त्री पीएस गोलेले आफ्नो सम्बोधनमा अघि भने- ‘शिक्षा भनेको यस्तो चीज हो जुन किनेर पाउँदैनौं अनि चोरेर पनि पाउँदैनौं अनि यस्तो राम्रो शिक्षा नर्थ पोइन्ट स्कूलले दिईरहेको छ। जीवनमा असम्भव भन्ने केही हुँदैन तर तपाईहरू कमिटमेन्ट गरेर अनुशासन र समर्पणक साथमा अघि बढ़िरहनुपर्छ। यहाँ पढ़ेका पूर्व विद्यार्थीहरू देशको ठूलो ठूलो ओहोदामा पुगेका छन् साथै सिक्किमको पनि ठूल्ठूलो पदमा रहेका छन्। शिक्षा क्षेत्रमा यो स्कूलको योगदान महत्वपूर्ण रहेको छ अनि कोविडको समयमा पनि यस स्कूलले आफ्नो हल नै प्रदान गरेर ठूलो सहयोग गरेको छ।’
मुख्यमन्त्री गोलेले अझ भने, मेरो लड़ाई कसैसित छैन तर सैध्दान्तिक रूपमा लडाई हुनसक्छ तर पनि म कसैसित दुश्मनी छैन।” उनले आज एकै मञ्चमा बाबु छोरा अभिनन्दित हुनु पाउँदा खुशी लागेको र यो ऐतिहासिक दिन रहेको पनि बताएका छन्।










