साहित्य अकादमी र सोनादा साहित्य संस्थानको आयोजनामा आँखाझ्यालबाट मनबहादुर गुरुङ’ तथा कवि सम्मेलन सम्पन्न

29ab879e-98fa-4dfd-aa5d-ef3c96c82b03

सोनादा (२९ अगस्त): भारतको प्रतिष्ठित साहित्यिक संस्था साहित्य अकादमी, नयाँ दिल्ली एवं सोनादा साहित्य संस्थानको संयुक्त आयोजनामा आईतवार ‘आँखाझ्यालबाट मनबहादुर गुरुङ’ तथा कवि सम्मेलन सोनादा डिग्री कलेजको प्रेक्षालयमा भव्य एवं साहित्यिक वातावरणका साथ सम्पन्न भयो। दुई सत्रमा विभाजित उक्त कार्यक्रमको प्रथम सत्रको अध्यक्षता सोनादा साहित्य संस्थानका अध्यक्ष जोगेन दर्नालले गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण नेपाली भाषा परामर्श समिति, साहित्य अकादमीका सदस्य आशा मुखिया लामाले राखेकी थिइन्। उक्त सत्रमा प्रमुख अतिथिका रूपमा भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार डा. जीवन नामदुङ, विशिष्ट अतिथिका रूपमा सोनादा डिग्री कलेजका प्राचार्य तथा समालोचक डा. योगेश खाती, सोनादा साहित्य संस्थानका पूर्व अध्यक्ष नरबहादुर तोया लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भ दीप प्रज्वलन तथा वरिष्ठ साहित्यकार मनबहादुर गुरुङको सम्मानमा माल्यार्पण गरी गरिएको थियो।बस्वागत सम्भाषणका क्रममा आशा मुखिया लामाले साहित्य अकादमीले आफ्ना विविध योजना तथा कार्यक्रमअन्तर्गत देशका विभिन्न क्षेत्र र भाषिक समुदायमा साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको बताइन्।

यसै अभियानअन्तर्गत सोनादा साहित्य संस्थानसँग सहकार्य गरी आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य यस क्षेत्रका साहित्यकारहरूको साहित्यिक योगदानलाई उजागर गर्नुका साथै स्थानीय प्रतिभाहरूलाई उचित साहित्यिक मञ्च प्रदान गर्नु रहेको उनले बताइन्। साहित्य अकादमी र सोनादा साहित्य संस्थानबीच यस प्रकारको सहकार्यले आपसी समन्वय, विश्वास र साहित्यिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास पनि उनले व्यक्त गरिन्। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा युवा कवि तथा लेखक नरेश कटुवालले भारतीय नेपाली साहित्यका वरिष्ठ नाटककार, कवि, गीतकार, सङ्गीतज्ञ तथा लोककलाकार मनबहादुर गुरुङको व्यक्तित्व र कृतित्वमाथि सारगर्भित तथा अन्वेषणपूर्ण वार्ता प्रस्तुत गरेका थिए। आफ्नो वार्ताका क्रममा कटुवालले सन् १९५० को दशकदेखि भारतीय नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका तथा नेपाली रङ्गमञ्च र अभिनय क्षेत्रमा समेत लामो समयदेखि सक्रिय रहेका मनबहादुर गुरुङको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारे। उनले मनबहादुर गुरुङलाई केवल कविका रूपमा मात्र नभई कवि, गीतकार, कथाकार, नाटककार, सङ्गीतकार, अभिनेता तथा लोककलाकारका रूपमा स्थापित बहुमुखी स्रष्टा भएको उल्लेख गरेका थिए।मनबहादुर गुरुङका नाटक, कथा, कविता तथा अन्य सिर्जनात्मक कृतिहरूमाथि अझ गम्भीर अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याउँदै कटुवालले उनको लेखनशैली, कविताको स्वरूप, वैचारिक पक्ष तथा साहित्यिक दृष्टिकोणलाई समेत श्रोतासमक्ष प्रस्तुत गरेका थिए। ‘आँखीझ्यालबाट मनबहादुर गुरुङ’ शीर्षकअन्तर्गत प्रस्तुत उक्त वार्ताले मनबहादुर गुरुङको साहित्यिक यात्रालाई नयाँ दृष्टिबाट हेर्ने अवसर प्रदान गरेको थियो। प्रमुख अतिथिको सम्भाषणमा भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले मनबहादुर गुरुङलाई हास्य–व्यङ्ग्य साहित्यका एक प्रखर स्रष्टाका रूपमा स्मरण गरे। उनले पूर्ववक्ता नरेश कटुवालले मनबहादुर गुरुङमाथि प्रस्तुत गरेको विस्तृत एवं महत्त्वपूर्ण वार्ताको प्रशंसा गर्दै दार्जिलिङका हास्य–व्यङ्ग्य साहित्यकारहरूमध्ये मनबहादुर गुरुङको विशिष्ट स्थान रहेको बताएका छन्। उनका कृतिहरू साहित्यिक दृष्टिले महत्त्वपूर्ण तथा कालजयी रहेको धारणा पनि उनले व्यक्त गरे। प्रथम सत्रको समापन गर्दै संस्थानका अध्यक्ष जोगेन दर्नालले मनबहादुर गुरुङजस्ता बहुआयामिक स्रष्टाको साहित्यिक योगदानमाथि यसरी निरन्तर विमर्श र अनुसन्धान हुनु आवश्यक रहेको बताए। कार्यक्रमको दोस्रो सत्रमा कवि सम्मेलन आयोजना गरिएको थियो। उक्त कवि सम्मेलनको अध्यक्षता सोनादा डिग्री कलेजका प्राचार्य तथा समालोचक डा. योगेश खातीले गरेका थिए। कवि सम्मेलनमा वरिष्ठ साहित्यकार अम्बर सुब्बा, वरिष्ठ साहित्यकार रामराज राई, कविहरू सुधा राई, अमर शर्मा तथा मुकुन्दर बम्जनले आफ्ना स्वरचित तथा मौलिक कविताहरू वाचन गरेका थिए। अतिथि कविका रूपमा वरिष्ठ साहित्यकार विनोद राई ‘सागर’ को पनि उपस्थिति रहेको थियो।

कविहरूका विविध भाव, विचार र संवेदनाले भरिएका कविताहरूले श्रोताहरूलाई साहित्यिक रसास्वादन गराएको थियो। कार्यक्रमको अर्को चरणमा समारोहमा सहभागी कवि तथा अन्य सहभागीहरूलाई साहित्य अकादमी, नयाँ दिल्ली एवं सोनादा साहित्य संस्थानको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो। यसै अवसरमा नेपाली भाषा परामर्श समिति, साहित्य अकादमीका सदस्य आशा मुखिया लामाको अनवरत साहित्यसेवाको उच्च मूल्याङ्कन गर्दै उनले हालै प्राप्त गरेकी बी. बी. मुरिङला स्मृति पुरस्कारका लागि सोनादा साहित्य संस्थानको तर्फबाट विशेष अभिनन्दन गरिएको थियो। उनलाई अभिनन्दन पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो। संस्थानले उनको दीर्घ साहित्यिक योगदानप्रति हार्दिक सम्मान, आभार तथा बधाई व्यक्त गरेको थियो। उक्त समारोहमा सोनादा क्षेत्रका साथै भारतीय नेपाली साहित्य तथा सामाजिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित साहित्यकार तथा विशिष्ट व्यक्तित्वहरूमध्ये सोनादा साहित्य संस्थानका सल्लाहकार प्राध्यापक देवकुमार प्रधान, साहित्यकार बुद्ध सङ्गम, प्राध्यापक उष्णम पाण्डे, प्राध्यापक अनिल विश्वकर्मा, वरिष्ठ नागरिक तथा सद्भावना क्षेत्रसँग सम्बद्ध प्रतिनिधिहरू, प्रभाकर समाज, सोनादाका सदस्यगण, साथै गोर्खा सांस्कृतिक संस्थान, खर्साङका संरक्षक पारस लामा लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी सोनाम छिरिङ, संस्थानसँग आबद्ध सदस्यगण तथा सोनादा क्षेत्रका अन्य साहित्यप्रेमी, बुद्धिजीवी एवं सामाजिक प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई प्राध्यापक मेघनाथ छेत्रीले सञ्चालन गरेका थिए भने कार्यक्रमको अन्त्यमा सोनादा साहित्य संस्थानका सहसचिव मञ्जरी गुरुङले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

Advertisement