मिरिक: किराँत खम्बु राई सांस्कृतिक संस्थान् मिरिक महकुमाको आयोजनामा गत मंगलबारदेखि किरातेश्वर मन्दिर कृष्णनगरमा शुरू भएकाे किराँतहरूको महान् पर्व साकेला उँधौलीकाे समापन आज भयाे।समापन कार्यक्रममा मिरिक महकुमाभरिका खम्बु राईहरू भेला भएर एउटा रैलीकाे आयाेजना गरियाे। किराँती भेष भूषामा सजिएर निकालिएकाे रैलीले मिरिक बजार अनि कृष्णनगरकाे परिक्रमा गर्दै खम्बु राईहरू खाँटी जनजाति रहेकाे अनि खम्बु राई जातिलाई शीघ्र जनजातिकाे मान्यता दिनपर्छ भन्दै व्यापक नाराकाे साथमा माग गरियाे। यस अवसरमा माङ्खिम परिसरमा माङ्पा अनि माङमाहरूले पूजा अर्चना गरेपछि सिली नृत्य लगायत विविध कार्यक्रमकाे आयाेजना गरियाे। साकेला पर्वमा मिरिक महकुमाको विभिन्न शाखाबाट मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो भने कलाकारहरूले सिली नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा संस्थानका प्रवक्ता राजीब राईले यस वर्षकाे साकेला पर्व सबैकाे साथ र सहयाेगकाे कारण सलतापूर्वक समापन भएकाे जानकारी गराउँदै जातीय रहन सहन, भाषा, संस्कार अनि संस्कृतिकाे जगेरा गर्ने उद्देश्यले गरिएकाे उक्त कार्यक्रम गर्नुकाे मुख्य उद्देश्य खम्बु राईहरू प्रकृतिकाे पूजा गर्ने खाटी जनजाति हाे भनी संन्देश प्रवाह गर्नु पनि रहेकाे बताए।तउनले खम्बु राई जातिलाई सरकारकारले शीघ्र जनजातिकाे मान्यता दिनुपर्छ भनी संगठनकाे पक्षबाट माग पनि गरे। उनले किराँतहरू प्राकृतिक पूजक रहेको र यो परम्परा आफूहरूले परा पूर्वकालदेखि नै अंगालेर आएको बताए। राईहरू खाट्टी जनजाति रहेको दाबी गर्दै राईहरूसँग सरकार समक्ष देखाउने समपूर्ण प्रमाणहरू पनि पर्याप्त मात्रमा रहेकोले आफूहरूको माग चाडो पूरा गर्नु पर्ने विषयमा पनि जोड दिए।

महकुमा अध्यक्ष आरके राईकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा केन्द्रीय संस्थापक सदस्य सीआरदास राई, युवा केन्द्रीय सचिव किशाेर राई, शिवकुमार राई, प्रेम राई, प्रेम साङपाङ, संस्थानका मिरिक महकुमा मुख्य सल्लाहकार सीके साङपाङ, अमर दुङमाली, सिडी बान्तवा आदि उपस्थित थिए।कार्यवाहक सह सचिव कैलास राईले स्वागत मन्तव्य पाेखेकाे कार्यक्रमकाे सञ्चालन प्रवक्ता राजीव राईले गरेका थिए। कार्यक्रममा विभिन्न शाखाबाट सिली नृत्यहरू प्रस्तुत गरियाे भने भाेइस अफ् नेपाल क्रिट्सका प्रतियाेगीहरू मिन्छमा राई, इशा राई, कल्याण राई, पुरण राई आदिले गीतहरू गाएका थिए।










