दुधे पूलको तत्काल मरमत्ति गरिने र दुई दिनमा यातायात सुचारु हुनेछ: सांसद राजु विष्ट
खरसाङ: दूधेकाे अस्थायी पूल क्षतिग्रस्त भएपछि दार्जिलिङका लाेकसभा सांसद राजु विष्टले आज बिहान दुधे क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। रातभरि परेको पानीले दुधेमा बालासन खोलामा अस्थायी रुपमा बनाइएको पुल भत्किएर रोड बाधित बनेको थियो। उक्त अस्थायी पूल क्षतिग्रस्त भएपछि मिरिक र सिलगढीमाझको यातायात ठप्प भएको छ। दुधेको अस्थायी ब्रिजलाई बगाएपछि दार्जिलिङ सांसद राजु विष्टले दुधे क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद राजु विष्टले भने, यो पूल ममता सरकारको पालोमा दुई वर्षमा पनि नबनिनु दुर्भाग्यपूर्ण रहेको छ। यस पूलको निरीक्षण गर्न ममता ब्यानर्जी आफै आएकी थिइन्। तर पनि समयमा नै बनिएन।’
पत्रकारहरुले सोधेका प्रश्नको उत्तरमा सांसद राजु विष्टले भने, ‘यस पूलको तत्काल मरमत्ति गरिनेछ। दुई दिनमा यातायात सुचारु हुनेछ। तर यो पूल तबसम्म सुरक्षित रहँदैन जबसम्म बाँध निर्माण हुँदैन। सम्बन्धित विभागसित सल्लाह गरेर दुधे भएर कुद्ने ट्रकहरु र मालवाहक गाडीहरु वैकल्पिक रोड भएर कुद्नेछन्।’










