सांसद राजु बिष्टले केन्द्र सरकारलाई अवगत गराए पर्जापट्टाको माग  

सिलगढी: दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रका चियाबगान अनि सिन्कोना बगानका श्रमिकहरूलाई पर्जापट्टा भूमि अधिकार प्रदान गर्न चाँड़ोभन्दा चाँड़ो आवश्यक पाइला चाल्नुपर्ने विषयमाथि आज सांसद राजु बिष्टले संसदमा केन्द्र सरकारलाई अवगत गराएका छन्। संसदमा बोल्दै उनले आफ्नो वक्तव्यको शुरुवातमा हालै मणिपुरमा राष्ट्रको सेवामा आफ्नो ज्यान गुमाएका १०७ बटालियन टेरिटोरियल आर्मी (११ गोर्खा राइफल्स) का सैनिकहरूलाई समरण गरे। उनले जारी गरेको विज्ञप्तिमा यसरी बताएका छन्, ‘मैले सदनको ध्यानाकर्षण वाणिज्यसम्बन्धी संसदीय स्थायी समितिको १७१औँ रिपोर्ट -“भारतीय चिया उद्योग विशेषगरि दार्जीलिङ क्षेत्रलाई प्रभावित गरिरहेका मामिलाहरू” प्रति गरें। मैले संसदलाई जानकारी दिएँ कि यो समिति, दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रमा चिया उद्योगलाई असर गरिरहेका गम्भीर समस्याहरू बारे छलफल गर्दै, ती समस्याहरू मध्ये प्रमुख– पुस्तौंदेखि यी बगानहरूमा आफ्नो पसिना बगाउँदै आएका श्रमिकहरूलाई पर्जापट्टा भूमि अधिकारबाट वञ्चित राखिनु हो भन्ने निष्कर्षमा पुगेको छl’

‘समितिले आजादीको सात दशकपछि पनि चियाबगान श्रमिकहरूको दयनीय अवस्था र वञ्चनामाथि निराशा व्यक्त गर्दछ अनि चिया श्रमिकहरूलाई उनीहरूका मूलभूत भूमि अधिकारबाट वञ्चित राख्न क्षेत्रमा जारी राखिएको सामन्तवादी व्यवस्थाको भर्त्सना गर्दछ,’ भन्दै उनले रिपोर्टबाट उद्धृत गरेका छन्l ‘मैले रिपोर्टबाट पढ़ेर सदनलाई सुनाएँ कि, “चिया बगान श्रमिकहरूद्वारा आफ्नै जमीनमा बसोबास गर्नका लागि मात्रै नभएर, उनीहरूका मृत परिवारजनहरूलाई चिहान दिन पनि लगातार संघर्ष गर्नु पर्ने स्थिति दुर्भाग्यपूर्ण अनि दुःखदायी छ,’ उनले विज्ञप्तिमा बताएका छन्l चिया श्रमिकहरूको पुस्तैनी भूमि र संसाधनहरूमाथि अधिकार र स्वामित्वलाई स्वीकार गर्ने विशिष्ट कानून बनाइनु पर्ने आवश्यकता रहेको समितिको रिपोर्टलाई उल्लेख गर्दै उनले बताएका छन्। केन्द्र सरकारसँग  चियाबगान र सिन्कोना बगान श्रमिकहरूका लागि न्याय सुनिश्चित गर्न उनीहरूलाई पर्जापट्टा अधिकारको ग्यारेण्टी दिने प्लान्टेशन राइट्स एक्ट पारित गर्न सांसद राजु बिष्टले अनुरोध गरेका छन्l यो फरेस्ट राइट्स एक्ट (२००६) सरहको होस् भन्ने उनको भनाइ छ। विज्ञप्तिमा उनले अझ यसो भनेका छन्, ‘पश्चिम बङ्गालमा टीएमसी सरकारद्वारा हाम्रा परिवारहरूलाई उनीहरूको पर्जापट्टा अधिकारबाट वञ्चित गर्ने कुप्रयास यथावत जारी छ अनि मलाई थाहा छ कि न्यायको लागि हाम्रो संघर्ष लामो हुनेछl हाम्रा दाजुभाई-दिदीबहिनीहरूले उनीहरूको भूमिको पर्जापट्टा अधिकार अवश्य पाउने छन् भनी म विश्वस्त छु। चिया अनि सिन्कोना बगानका सबै परिवारहरूलाई पर्जापट्टाको अधिकार अवश्य दिलाएर नै छोड़्नेछुl’

About Author

Advertisement