गान्ताेक: सिक्किम सरकारको सहकारिता विभागद्वारा जारी सहकारी सप्ताह उत्सव २०२६ अन्तर्गत छैटौँ दिन हिजो अर्थात् ४ जुलाई २०२६ का दिन राज्यभर ‘हरित सहकारी दिवस’ (ग्रीन कोअपरेटिभ डे) भव्य रूपमा मनाइएको छ। यस विशेष अवसरमा विभागले पर्यावरण संरक्षण र दिगो विकासप्रति आफ्नो सामूहिक प्रतिबद्धता प्रकट गर्दै सिक्किमका विभिन्न स्थानहरूमा बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो। यो राज्यव्यापी वृक्षारोपण अभियान सहकारिता विभागको मुख्यालयका साथै सबै जिल्ला कार्यालयहरूमा एकैसाथ सञ्चालन गरिएको विभागले जनाएको छ।
पर्यावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस अभियानमा विभागका उच्च अधिकारीहरू, विभिन्न सहकारी संस्थाका सदस्यहरू तथा अन्य सरोकारवालाहरूको उत्साहजनक एवं सक्रिय सहभागिता रहेको थियो। राज्यभरिका कुल ६२ वटा सहकारी संस्थाहरूको प्रत्यक्ष र सक्रिय संलग्नतामा सञ्चालन भएको यस अभियानका क्रममा विभिन्न प्रजातिका गरी जम्मा ४ हजार ५ सय बिरुवाहरू रोपिएका छन्। सहकारिता विभागका अनुसार यस कार्यक्रमले राज्यको हरियाली क्षेत्र बढाउन महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै स्थानीय समुदायमा वातावरण संरक्षणका प्रति नयाँ सचेतना जागृत गराउन ठूलो भूमिका खेलेको छ।









