जलपाईगढी: सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै स्थानीयले सडकको काम रोकेका छन्। टिस्टा शारदा पल्ली नम्बर ८ मा सडक निर्माणको काम गरिरहेका ठेकेदार र मजदुरलाई गाउँलेले घेरा हालेर काम ठप्प पारेका छन्। जलपाईगढी खरिया ग्राम पञ्चायतको टिस्टा पारी सार्दा गाउँ हो। पञ्चायत तथा ग्रामीण विकास विभागले एक करोड १२ लाख रुपियाँको लागतमा जुबली पार्क नजिकैको न्यायाधीश बंगलादेखि टिस्टा बाँधको मण्डलघाटसम्म करिब ३ दशमलव ५ किलोमिटर लम्बाइको नयाँ सडक निर्माण गरिरहेको छ। तोकिएको मापदण्डअनुसार सडक निर्माण हुन नसकेको गुनासो गर्दै मंगलबार गाउँलेको एक समूहले काम रोकेको हो। तर, ठेकेदार कम्पनीले तोकिएको समयअनुसार काम भइरहेको दाबी गरेको छ।












