श्रमजीविको आवाज बोक्ने पत्रकार केशर मोक्तान श्रमशक्ति अवार्डले सम्मानित  

WhatsApp-Image-2024-07-26-at-16.53.34

मंग्पू: गएको दुई दशक भन्दा बढी समयदेखि मंग्पू क्षेत्रबाट नेपाली पत्रकारितामा विशेष  भूमिका निर्वाह गर्दै आएका पत्रकार केशर मोक्तानलाई आज श्रमशक्ति अवार्डद्वारा सम्मानित गरिएको छ। उनी मंग्पू क्षेत्रबाट हिमालय दर्पणका विशेष संवाददाता हुन् भने आफ्नै न्यूज च्यानल साथै अन्य सञ्चारमाध्यमसित पनि संलग्न छन्l पत्रकरिताको साथै सामाजिक क्षेत्रमा केशर मोक्तानको उल्लेखनीय योगदानको भूमिकालाई सराहना गर्दै केशर मोक्तानलाई डा. अम्बेडकर शैक्षिक संस्थान मंग्पूमा एक कार्यक्रमबीच साईनाथ अन्तर्राष्ट्रिय सोसियल अनि सांस्कृतिक च्यारिटेबल फाउण्डेशनको तर्फबाट श्रमशक्ति अवार्ड २०२४ प्रदान गरिएको होl

उनलाई उक्त अवार्ड पत्रकारिता र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा प्रदान गरिएको छ। केशर मोक्तानले पत्रकारिता क्षेत्र बाहेक साहित्यको क्षेत्रमा पनि कविता रचेर आफ्नो  भूमिका निर्वाह गरेका छन्l केशर ‘गाउँले’को नाममा उनले कविताहरू रचेका छन्l पत्रकारिताको क्षेत्रबाट उनले सिन्कोना बगानवासी र श्रमिकहरूको दु:ख-पीडा, समस्याहरूलाई उजागर गर्दै उनीहरूका अधिकारहरुको आवाजलाई समाचारबाट उठाउने गरेका छन्l उनी सामाजिक कार्यहरूमा पनि सक्रिय रहन्छन्l यस बाहेक उनी भर्खरै आफ्नो अभिनयको प्रतिभालाई उजागर गर्दै चलचित्रको क्षेत्रमा प्रवेश गरेका छन्l उनले आफ्नै पेश पत्रकारको भूमिका निर्वाह गरेको चलचित्र ‘सुनैना’ गएको हप्ता मात्र युट्युबमा सार्वजनिक भएको छl   

           

About Author

Advertisement