शैलेशचन्द्र श्रेष्ठको ‘फाटेको पत्लुङ’ सार्वजनिक

IMG-20241110-WA0215

गान्तोक: रत्नश्री प्रकाशन सोरेङ, पश्चिम सिक्किमले आइतवार शैलेशचन्द्र श्रेष्ठद्वारा लिखित कथा सङ्ग्रह फाटेको पत्लुङको लोकार्पण गरेको छ। सिक्किम सरकारका पूर्व मुख्य सचिव पीके प्रधानको मुख्य आतिथ्य एवम् साहित्यकार प्रद्युम्न श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा उक्त पुस्तकको लोकार्पण गरियो।
मुख्य अतिथि पीके प्रधानले कथाकारलाई बधाई दिँदै अझ बढी राम्रा पुस्तक लेख्न आग्रह गरे। शरीरमा ऊर्जा हुँदै समाजका लागि केही गरौँ केही लेखौँ भन्ने आह्वान गर्दै बेलैमा यस्ता समाजोपयोगी कार्य नगरे बुढेसकालमा पछुताउनुपर्ने मन्तव्य गरे। लेखकहरूलाई यसरी प्रोत्साहित गर्न समाजको कर्तव्य हो भन्दै उनले सबैले पुस्तक किनिदिने पनि आग्रह गरे। सभाध्यक्ष प्रद्युम्न श्रेष्ठले नेपाली साहित्य लेखन एवम् प्रकाशनका अनुभवहरू साझा गरे। साहित्यकार चुनिलाल घिमिरेले पुस्तकमाथि समिक्षात्मक टिप्पणी गरेका थिए।
कथाकार शैलेशचन्द्र श्रेष्ठले चालिस वर्षअघि विद्यार्थी जीवनमा लेखेर राखेका कथाका पाण्डुलिपीहरू देखाउँदै भर्खरै मात्र उक्त रचनाहरूलाई प्रकाशमा ल्याउने संयोग जुरेको मन्तव्य गरे। उनले यस पुस्तकको बिक्रीबाट उठेका रकमलाई रत्नश्री प्रकाशनको कोषमा जमा गरिने बताए। पुस्तकका संरक्षक केबी छेत्रीले पनि पुस्तक र पुस्तकका लेखकका बारेमा आफ्नो विचार राखे। कार्यक्रमलाई प्रेम भण्डारीले सञ्चालन गरेका थिए।

About Author

Advertisement