शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरा चियाबारीको ओबीसी सिटमा पाँचजना प्रार्थीहरू चुनाव मैदानमा

IMG-20230629-WA0330.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सिपाहीधुरा २४३ नम्बर बुथमा पञ्चायत चुनावको लागि जम्मा ५ जना प्रार्थीहरू खड़ा भएका छन्। यस क्षेत्रमा स्वतन्त्र प्रार्थीहरू निक्कै बेसी देखिएको छ। शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरा चियाबारीमा दुईवटा सिटहरू रहेका छन् जसमा एउटा ओबीसी सिट र अर्को खुल्ला सिट गरी जम्मा दुईवटा सिटहरू रहेका छन्। यहाँको ओबीसी सिटमा जम्मा पाँचजना प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। यस सिटमा पहाड़को सत्तामा रहेको भागोप्रमोको प्रार्थीक रूपमा तीनधारे महानदी समष्टिको सांगठनिक सचिव सीबी राई रहेका छन् भने भारतीय जनता पार्टीको पक्षबाट नयाँ अनुहार अनुपा प्रधान छेत्री रहेका छन् भने यस सिटमा स्वतन्त्र प्रार्थीको रुपमा प्रमोद प्रधान, राजीव राई र एमके प्रधान रहेका छन्। पाँचजनामा भाजपाको प्रार्थी अनुपा प्रधान छेत्रीले मिडियामा बोल्न मानेनन्। अन्य पाँचजना प्रार्थीहरू क्रमैले भागोप्रमोको प्रार्थी सीबी राईले आफुलाई पार्टीले टिकट दिएर पञ्चायत चुनावमा उठाएको कारणले आफु प्रार्थी बनेर चुनाव लड्नलाई अघि आएको बताउँदै आफु पहिला पनि पञ्चायत प्रधानको रूपमा कार्य गरेको कारणले आफ्नो अनुभव र धेरै जानकारीहरूले गर्दा यसपाली पनि काम गर्नु सुविधा हुने बताएका छन्। उनले आफुलाई पार्टीले टिकट दिएर उठाएको साथै आफ्नो विभिन्न सामाजिक कार्यहरू हेरेर जनताले भोट दिएर जिताउनेछ भनी आशा व्यक्त गरेका छन्। उनले अहिले जीटीएमा भागोप्रमो सत्तामा रहेकोले आफुले जितेको खण्डमा विभिन्न विकासका कार्यहरू गर्नलाई सजिलो हुने साथै जनताको सेवा र विभिन्न विकासमूलक कार्यहरू गर्ने बताएका छन्। सिपाहीधुराका अर्का प्रार्थी एमके प्रधानले आफुलाई गाउँ समाजले नै चुनेर निर्दलीय प्रार्थीको रुपमा खड़ा गराएको कारणले जनताले भोट दिएर जिताउनेछ आशा व्यक्त गरेका छन्। उनले आफु विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेको र अब पञ्चायत सदस्य बनेको खण्डमा सरकारी सहुलियतहरू ल्याएर गाउँको सेवा गर्ने अनि जनताको सेवामा तत्पर रहने कुरा बताएका छन्। मानिसहरूले नै रुचाएर उठाएको कारणले आफुले जित्ने कुरामा विश्वस्त रहेको बताएका छन्। त्यसरी नै अर्को स्वतन्त्र प्रार्थी प्रमोद प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो अध्यक्ष अनित थापासित मन दुखाएर नै चुनावमा निर्दलीय प्रार्थीको रुपमा खड़ा भएको बताउँदै यसपालीको पञ्चायत चुनावमा शिवखोला ग्राम पञ्चायतमा ओबीसी सिटमा निर्दलीय प्रार्थीको रुपमा खड़ा भएको बताएका छन्। उनले गाउँको लागि पेन्सन, वृध्दा भत्ता, कुखुरा पालन, मौरी पालन, माछा पालनको लागि कार्य गर्ने तथा शौचालय निर्माण, बाटो घाटोको निर्माण, सार्वजनिक भवन लगायत बुनियादी सुविधाको लागि कार्य गर्ने बताएका छन्।प्रमोद प्रधानले सिपाहीधुराको जनताको लागि आफु खड़ा भएको अनि मान्छेले रुचाएकोले जीतप्रति पूरा आशा राखेको बताएका छन्। त्यसरी नै अर्को प्रार्थी राजीव राईले पार्टीले कसैलाई नसोधी प्रार्थी घोषणा गरेको र आफु भागोप्रमोको सभापति भए पनि केही याद नभएको र सुटुक्कै पार्टीले एकजनालाई टिकट दिएपछि जनताले अफुलाई चुनावमा उठाएपछि यसरी चुनाव मैदानमा रहेको बताएका छन्। राजीव राईले पञ्चायत सदस्य बनेको खण्डमा चुनभट्टीदेखि सिपाहीधुरासम्मको रोड निर्माण गर्ने, स्ट्रीट लाइट जड़ानको लागि कार्य गर्ने, मन्दिरमा पुजारी राख्ने, खेल मैदान निर्माण गर्न पहल गर्ने, एम्बुलेन्स सेवा शुरु गर्ने तथा युवाहरूको लागि जिम शुरु गर्ने जस्ता कार्यहरू गर्ने बताएका छन्। यसै बुथबाट भारतीय जनता पार्टीको प्रार्थी मिडियामा बोल्न मानेनन्। सबैले सबैले आफ्नो आफ्नो पक्षबाट जीतको आशा राखेका छन्।

About Author

Advertisement