गान्तोक: राज्यको शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङ लगायत अन्य अधिकारीहरूले राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग भेट गऱ्यो। भेटको क्रममा विशेष गरेर सिक्किम राज्यको शिक्षा विभागले राष्ट्रीय शिक्षा नीतिलाई सहीरूपमा कार्यान्वयन गरेको राज्यपाललाई अवगत गराए। राज्यमा राष्ट्रीय शिक्षा नीति कार्यान्वयनको स्थिति र प्रगतिबारे राज्यपाललाई अवगत गराउनको शिक्षा विभागका टोलीले राज्यपालसँग भेट गरेको हो। बैठकमा अतिरिक्त मुख्य सचिव आर तेलाङले सिक्किम राज्यमा राष्ट्रीय शिक्षा नीति सही ढङ्गमा कार्यान्वयन गरिएको र यसको प्रगतिबारेमा संक्षिप्त रूपमा प्रकाश पारे। यसपछि एससीईआरटीका निर्देशक डा. रबिन छेत्रीले राष्ट्रीय शिक्षा नीतिबारे विस्तृतरूपमा जानकारी गराए। उनले सिक्किम रज्यको शिक्षा विभागले राष्ट्रीय शिक्षा नीतिलाई कार्यान्वयन गर्ने अवसरमा भोग्नुपरेका विभिन्न चुनौतीबारेमा पनि प्रकाश पारे।सोही प्रकारले अतिरिक्त सचिव उज्ज्वल राईले पनि उच्च शिक्षामा नीति कार्यान्वयनको स्थिति र पहलबारे जानकारी गराए।
राज्यपालले सबैको कुरालाई ध्यानपूर्वक सुने पछि विभागले गरेको प्रयासको प्रशंसा गरे।










