कोलकाता: भारतको व्यक्तिगत स्याहार तथा स्वास्थ्य सेवा क्षेत्रका प्रमुख कम्पनीहरूमध्ये एक इमामी लिमिटेडले इंकनट डिजिटल प्राइभेट लिमिटेड तथा त्यसका सहायक कम्पनीहरूमा ६० प्रतिशत हिस्सेदारी अधिग्रहणका लागि अन्तिम सम्झौता सम्पन्न गरेको छ। पूर्ण शेयर आधारमा यस सम्झौताको मूल्य करिब ३२१ करोड रुपियाँ निर्धारण गरिएको छ। आगामी २४ महिनाको कार्यसम्पादनका आधारमा यस मूल्यमा केही परिवर्तन गर्ने व्यवस्था पनि गरिएको छ। कम्पनीका अनुसार हालको सम्झौता सम्पन्न भएपछि आगामी साढे चार वर्षभित्र दुई चरणमा इनकनट डिजिटलको बाँकी हिस्सेदारी पनि अधिग्रहण गरिनेछ। भविष्यको कार्यसम्पादनका निर्धारित मापदण्डका आधारमा त्यसको मूल्य तय गरिनेछ।इनकनट डिजिटल भारतको व्यक्तिगत रूपमा अनुकूलित सौन्दर्य तथा व्यक्तिगत स्याहार क्षेत्रका अग्रणी कम्पनीहरूमध्ये एक हो। यसको प्रमुख ब्रान्ड वेदिक्स र स्किनक्राफ्ट तथ्याङ्कमा आधारित व्यक्तिगत समाधान तथा वैज्ञानिक तत्त्वहरूमा आधारित छन्। यी दुवै ब्रान्डले प्रत्यक्ष ग्राहक आधारित व्यवस्थामार्फत व्यक्तिगत आवश्यकता, जीवनशैली तथा इच्छित परिणामअनुसार अनुकूलित कपाल तथा छाला स्याहार समाधान उपलब्ध गराउँदै लोकप्रियता हासिल गरेका छन्। वेदिक्सले प्राचीन आयुर्वेदिक सिद्धान्तलाई आधुनिक तथ्याङ्क विश्लेषणसँग जोडेर व्यक्तिको प्रकृति तथा जीवनशैलीका आधारमा उत्पादन तयार गर्दछ। अर्कोतर्फ स्किनक्राफ्टले छाला रोग विशेषज्ञको सल्लाहमा आधारित पद्धति अपनाउँदै वैज्ञानिक रूपमा प्रमाणित तत्त्वहरूको माध्यमबाट छाला तथा कपालका विशेष समस्याको समाधान प्रदान गर्दछ। यी दुवै ब्रान्डले उपभोक्ताबीच बलियो विश्वास, पुनः प्रयोगको प्रवृत्ति तथा तीव्र रूपमा विस्तार भइरहेको व्यक्तिगत स्याहार बजारमा छुट्टै पहिचान बनाउन सफल भएका छन्। वर्तमान समयमा व्यक्तिगत आवश्यकता आधारित तथा प्रभावकारी परिणाम दिने उत्पादनहरूको माग तीव्र रूपमा बढिरहेको छ।

इमामी लिमिटेडका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक हर्ष वर्धन अग्रवालले भने, “यो लगानी उच्च विकासशील सौन्दर्य तथा व्यक्तिगत स्याहार क्षेत्रमा हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम हो। अहिले बजार तीव्र गतिमा विस्तार भइरहेको भए पनि व्यक्तिगत आवश्यकतानुसार प्रभावकारी समाधान दिने कम्पनीहरूको संख्या अझै सीमित छ। उपभोक्ताको रुचि अहिले प्रभावकारिता तथा व्यक्तिगत अनुकूलनतर्फ केन्द्रित हुँदै गएको छ। हाम्रो विश्वास छ कि व्यक्तिगत सौन्दर्य स्याहार क्षेत्रले भारत तथा अन्तर्राष्ट्रिय बजारमा दीर्घकालीन ठूलो सम्भावना बोकेको छ।” उनले थप भने, “वेदिक्स र स्किनक्राफ्टले हाम्रो सौन्दर्य तथा व्यक्तिगत स्याहार उत्पादनको दायरालाई अझ समृद्ध बनाउनेछन्। आयुर्वेद तथा छाला विज्ञानमा आधारित यी ब्रान्डहरू हाम्रो भविष्य उन्मुख तथा उपभोक्ता केन्द्रित रणनीतिसँग मेल खान्छन्। द म्यान कम्पनी र ब्रिलारेसँगै यो अधिग्रहणले तीव्र रूपमा विस्तार भइरहेको व्यक्तिगत स्याहार बजारमा हाम्रो स्थितिलाई अझ मजबुत बनाउनेछ।” यस अवसरमा इंकनट डिजिटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चैतन्य नल्लानले भने, “इमामीसँगको यो साझेदारी वेदिक्स र स्किनक्राफ्टका लागि महत्वपूर्ण मोड सावित हुनेछ। इमामीको लामो अनुभव तथा सशक्त कार्यान्वयन क्षमतामार्फत हामी तीव्र रूपमा नयाँ नवप्रवर्तन ल्याउन, अझ व्यापक बजारसम्म पुग्न तथा व्यक्तिगत सौन्दर्य स्याहार उद्योगको विकासमा नेतृत्व गर्न सक्षम हुनेछौँ।”









