गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज पश्चिम बंगालमा नवनिर्वाचित भारतीय जनता पार्टी (भाजपा) सरकारको ऐतिहासिक शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको समुपस्थितिमा कोलकाताको ब्रिगेड मैदानमा आयोजित भव्य समारोहका बीच मुख्यमन्त्री तामाङले छिमेकी राज्यमा नयाँ सरकार गठनको साक्षी बन्ने अवसर प्राप्त गर्नुभएको हो। सो अवसरमा उहाँले पश्चिम बंगालको नयाँ सरकारमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएका शुभेन्दु अधिकारी लगायत नवगठित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री तामाङले यस दिनलाई पश्चिम बंगालका लागि एक ‘ऐतिहासिक क्षण’ को रूपमा वर्णन गर्दै नयाँ सरकारको आगमनले विकास, सुशासन र प्रगतिको नयाँ अध्याय सुरु भएको उल्लेख गर्नुभएको छ। उहाँले नयाँ प्रशासनले बंगालका नागरिकहरूको कल्याण र आकांक्षाहरूलाई सम्बोधन गर्न पूर्ण समर्पणका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

मुख्यमन्त्रीले नयाँ नेतृत्वको माध्यमबाट राज्यभरि शान्ति, सशक्तिकरण र परिवर्तनकारी अवसरहरू सृजना हुने आशा व्यक्त गर्दै सम्पूर्ण मन्त्रिपरिषद्लाई इमानदारी र दूरदर्शिताका साथ जनताको सेवामा लाग्न सफलताको कामना समेत गर्नुभएको छ।









