वेष्ट इण्डिजविरुद्ध दोस्रो वनडे म्याचमा भारतको ८ विकेटले रेकर्ड जीत, गिलको अविजित दोहोरो शतक

IMG-20260930-WA0089

गुवाहटी: भारतले कप्तान गिलको रेकर्ड दोहोरो शतक (अविजित २२३ रन) अनि रोहित शर्मा (१०१ रन)-को शतकको सहायताले वेष्ट इण्डिजविरुद्ध दोस्रो वनडे क्रिकेट म्याचमा ८ विकेटले ऐतिहासिक जीत हासिल गऱ्यो। यस जीतको साथ भारतले ३ वटा वनडे म्याचको सीरीजमा २-०-को अजेय बढ़त पनि हासिल गऱ्यो। गुवाहटीको बारसापारा क्रिकेट स्टेडियममा बुधवार टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले ३ जनाको शतकको सहायताले ५० ओभरमा ७ विकेटमा ४०५ रनको विशाल स्कोर बनायो। त्यसपछि भारतले बलरहरूका निम्ति काल साबित भएको पीचमा रनको वर्षा गर्दै ४३.३ ओभरमै केवल २ विकेट गुमाएर ४०६ रनको लक्ष्यलाई हासिल गऱ्यो। भारतको यस ऐतिहासिक जीतमा मुख्य कारीगर रहने कप्तान गिलले १३३ बलमा अविजित २२३ रन बनाए, जसमा २६ वटा चौका र ८ वटा छक्का सामेल छ। यो उनको वनडे करियरको दोस्रो दोहोरो शतक हो। यसरी उनले केवल ११७ बलमा आफ्नो दोहोरो शतक पूरा गरी सबैभन्दा तेज दोहोरो शतकको रेकर्ड आफ्नो नाम गरे। यसअघि यो रेकर्ड भारतकै ईशान किशनको नाममा रहेको थियो। गिललाई आज शुरुदेखि नै लयमा देखियो अनि उनले साथी ओपनर रोहित शर्मासँग मिलेर पहिलो विकेटको निम्ति २६.२ ओभरमा २५५ रनको साझेदारी गरे। रोहितले १० वटा चौका र ६ वटा छक्काको सहायताले ७५ बलमा १०१ रन बनाए। आफ्नो शतकीय ईनिंग्सको गोरेटोमा रोहितले वनडे प्रारूपमा आफ्नो १२ हजार रन पनि पूरा गरे। रोहित आउट भएपछि गिलले विराट कोहली (१९ बलमा २९ रन) र रुतुराज गायकवाड़ (३७ बलमा अविजित ३१ रन)-सँग मिलेर भारतलाई जीत दिलाए। यो भारतले वनडे प्रारूपमा सफलतापूर्वक हासिल गरेको सर्वाधिक लक्ष्य हो। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले आफ्नो वनडे इतिहासको सबैभन्दा ठूलो स्कोर बनायो। यसअघि वेष्ट इण्डिजको वनडेमा सर्वाधिक स्कोर ३८९ रन रहेको थियो, जुन उनीहरूले ईंग्ल्याण्डविरुद्ध २७ फरवरी २०१९-मा बनाएका थिए। आज वेष्ट इण्डिजले आफ्नो वनडे इतिहासमा पहिलोपल्ट ४०० रनको आँकड़ा पार गरे पनि अन्तमा हारको सामना गर्नु पऱ्यो। वेष्ट इण्डिजको तर्फबाट आज अमिर जंगू, कप्तान शे होप र ओपनर जन क्याम्पबेलले शतक बनाए। यसमा जंगूले १२ वटा चौका र ३ वटा छक्काको सहायताले ७७ बलमा ११४ रन बनाए। यसरी होपले ९४ बलमा १०४ र क्याम्पबेलले ६८ बलमा १०१ रन बनाए। क्याम्पबेलले ९ वटा चौका र ५ वटा छक्का लगाए। यसरी होपले ८ वटा चौका र ३ वटा छक्का लगाए। केवल ३७ रनमा पहिलो विकेटको पतनपछि क्याम्पबेल र होपले मिलेर दोस्रो विकेटको निम्ति ११० रनको साझेदारी गरे। क्याम्पबेल आउट भएपछि होपले जंगूसँग मिलेर फेरि तेस्रो विकेटको निम्ति १८२ रनको साझेदारी गरी टोलीलाई विशाल स्कोर तर्फ अघि बढ़ाए। अन्तिम ओभरहरूमा भारतीय बलरहरूले केही विकेटको साथ पुनरागमन गरे पनि वेष्ट इण्डिजलाई ४००-को स्कोर पार गर्न कुनै समस्या भएन। भारतीय बलरहरूमा गुरनूर बरार, रवीन्द्र जडेजा र कुलदीप यादवले २-२ विकेट लिए।

About Author

Advertisement