विश्व बैंक टोलीद्वारा कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जका परियोजना स्थलहरूको स्थलगत निरीक्षण

FB_IMG_1777144448734

गेजिङ: ​सिक्किम सरकारको महत्त्वाकांक्षी पहल ‘सिक्किम इन्स्पायर्स’ अन्तर्गत सञ्चालित विभिन्न विकासमूलक कार्यहरूको प्रगति बुझ्न विश्व बैंकको उच्चस्तरीय टोलीले कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज (केएनपी) क्षेत्रको दुई दिने भ्रमण सम्पन्न गरेको छ। भेरेना फिप्स एबेलरको नेतृत्वमा रहेको उक्त टोलीले अप्रिल २४ र २५ गेजिङ जिल्लाका विभिन्न परियोजना स्थलहरूको स्थलगत अवलोकन गर्दै स्थानीय सरोकारवालाहरूसँग अन्तक्रिया गरेको हो।
​युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्य र जैविक विविधताको संरक्षण गर्दै स्थानीयको आर्थिकस्तर सुधार्न सञ्चालित परियोजनाहरूको वस्तुस्थिति बुझ्न टोलीले जोंग्री–गोचेला पदमार्गको साचेन शिविरसम्म पदयात्रा समेत गरेको थियो। पदयात्राका क्रममा टोलीले सोही क्षेत्रमा रात बिताउँदै निर्माणाधीन र सञ्चालनमा रहेका पूर्वाधारहरूको निरीक्षण गरेको थियो। सो अवसरमा निकुञ्जकी प्रभागीय वन अधिकृत भूमिका राईले निकुञ्ज क्षेत्रमा भइरहेका पछिल्ला विकासात्मक गतिविधि र वन संरक्षणका प्रयासहरूबारे टोलीलाई विस्तृत जानकारी गराउनुभएको थियो।
​विश्व बैंकको सहयोगमा सञ्चालित यो कार्यक्रमले विशेषगरी महिला र युवाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउनुका साथै सामुदायिक पर्यटन र गैर–कृषि उद्यमशीलतामा जोड दिँदै आएको छ। भ्रमणका क्रममा कार्यक्रम निर्देशक रोहिणी प्रधानको समेत उपस्थिति रहेको टोलीले पदमार्ग आसपासका बासिन्दा र उद्यमशीलता विकास कक्षका सदस्यहरूसँग प्रत्यक्ष कुराकानी गर्दै परियोजनाले उनीहरूको जीविकोपार्जनमा पारेको प्रभावबारे जानकारी लिएको थियो।

टोलीले सो क्षेत्रमा चरा अवलोकन गर्दै जैविक पर्यटनको सम्भावनाबारे समेत चासो व्यक्त गरेको थियो। यस भ्रमणले सिक्किमको ग्रामीण अर्थतन्त्र र दिगो पर्यटन विकासका लागि चालिएका कदमहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।

About Author

Advertisement