गान्तोक: भारत सरकारको पर्यटन मन्त्रालयद्वारा ११ र १२ मेमा केवडियामा “विश्वस्तरीय मापदण्डअनुसार पर्यटन गन्तव्य विकास” विषयक राष्ट्रिय परामर्श कार्यशाला तथा समीक्षा बैठक आयोजना गरिएको छ। उक्त कार्यशालाको अध्यक्षता भारत सरकारका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले गर्नुभएको थियो भने पर्यटन राज्यमन्त्री सुरेश गोपी पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा पर्यटन मन्त्रालयका वरिष्ठ अधिकारीहरू, विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका प्रतिनिधिहरू, पर्यटन उद्योगसँग सम्बन्धित सरोकारवाला तथा देशभरिका पर्यटन विज्ञहरूको सहभागिता रहेको थियो।
कार्यशालालाई सम्बोधन गर्दै केन्द्रीय पर्यटन मन्त्री शेखावतले भारतमा विश्वस्तरीय पर्यटन गन्तव्य विकासका लागि एकीकृत योजना, दिगोपन, व्यवसाय सञ्चालनको सहजता, गन्तव्य व्यवस्थापन तथा सरोकारवालाहरूको सहभागिताको महत्त्वमा जोड दिनुभयो।
कार्यशालाअन्तर्गत पर्यटन पूर्वाधार विकास, साहसिक पर्यटनको रूपरेखा, गन्तव्य व्यवस्थापन, बैठक तथा सम्मेलन पर्यटन प्रवर्द्धन, डिजिटल पर्यटन प्रचार तथा दिगो पर्यटन अभ्यासजस्ता विषयमा प्राविधिक सत्र तथा विस्तृत छलफल सम्पन्न भएको थियो। विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी पर्यटन गन्तव्य विकासका लागि आ–आफ्ना रणनीति तथा प्रस्तावहरू पनि प्रस्तुत गरेका थिए।
सिक्किम राज्यको तर्फबाट पर्यटन तथा नागरिक उड्डयन विभागका प्रमुख मुख्य अभियन्ता–सह–सचिव नीरज प्रधानले सहभागिता जनाउँदै राज्यको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रस्तुत गर्नुभएको अवधारणामा दिगो, उच्च मूल्ययुक्त तथा विश्वस्तरीय प्रतिस्पर्धी पर्यटन विकासप्रति सिक्किम सरकारको प्रतिबद्धतालाई विशेष प्राथमिकता दिइएको थियो।
प्रस्तुतिमा वातावरणमैत्री पूर्वाधार विकास, अनुभवमा आधारित पर्यटन तथा गन्तव्य केन्द्रित योजनालाई राष्ट्रिय पर्यटन प्राथमिकतासँग समन्वय गर्दै अघि बढाउने विषयमा जोड दिइएको थियो।









