काठमाडौं(नेत्र बिक्रम बिमली): नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध ‘टाइम म्यागेजिन’ को सन् २०२६ का १०० प्रभावशाली उदीयमान व्यक्तिहरूको सूची “टाइम १०० नेक्स्ट” मा समावेश भएका छन्। म्यागेजिनले सार्वजनिक गरेको यस वर्षको सूचीमा उनलाई विश्वभरका नयाँ र प्रभावशाली नेतामध्ये एकका रूपमा स्थान दिइएको हो।
टाइम म्यागेजिनले बालेन शाहको उदयलाई परम्परागत राजनीतिक शक्तिविरुद्धको एउटा बलियो चुनौतीका रूपमा व्याख्या गरेको छ। युवा आन्दोलन र वैकल्पिक राजनीतिको माध्यमबाट स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयर निर्वाचित हुनुलाई म्यागेजिनले विशेष महत्त्वका साथ उल्लेख गरेको छ।
इन्जिनियरिङ पृष्ठभूमिका शाहले पदभार ग्रहण गरेपछि काठमाडौंको फोहोर व्यवस्थापन, सार्वजनिक सेवामा सुधार तथा सहरी सुव्यवस्था कायम गर्न चालेका कदमहरूको प्रशंसा गरिएको छ। विशेषगरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र अनधिकृत संरचनाहरू हटाउने उनको अभियानले राष्ट्रिय राजनीतिमा समेत गहिरो प्रभाव पारेको टाइमको विश्लेषण छ।
यसैगरी, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र युवा लक्षित चुनावी अभियानले उनलाई स्थापित गराउन भूमिका खेलेको समाचारमा उल्लेख छ। टाइम म्यागेजिनले हरेक वर्ष विभिन्न क्षेत्रमा विश्वभर सक्रिय रहेका उदीयमान व्यक्तित्वहरूलाई यस सूचीमा समेट्ने गर्दछ।
यस सूचीमा नेपालबाट राजनीतिक नेतृत्वको प्रतिनिधित्व भएको यो पहिलो पटक हो, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको युवा नेतृत्वको पहिचानलाई थप उचाइ दिएको छ।









