झापा (नेपाल): रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वार्ड नम्बर ४ की एक महिलाको हत्या ‘प्रेम सम्बन्ध’का कारण भएको खुलेको छ। ६ अगस्त (साउन २२ गते) राति सानीभेरी–४ लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या भएको थियो। मल्लको शव ७ अगस्त (२३ गते) बिहान ८:१५ बजे आफ्नै घरको कोठामा फेला परेको थियो। सुशीलाको हत्या आरोपमा पुलिसले रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। प्रेम ९ जुलाई (असार २५ गते) दिउँसो ३ बजेतिर आफ्नै घरबाट पक्राउ परेका हुन्। प्रेम र सुशीलाका बीचमा पछिल्लो डेढ वर्षदेखि ‘प्रेम सम्बन्ध’ रहेको र महिलाले विवाहको लागि दबाब दिएपछि हत्या गरेको आरोपीले स्विकारेको जिल्ला पुलिस प्रमुख पुलिस नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए। उनीहरूबीच डेढ वर्षअघि जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई फोन नम्बर साटासाटपछि भेटघाट हुन थालेको अनुसन्धानबाट खुलेको पोखरेलले बताए।
पुलिसका अनुसार हत्याको अघिल्लो दिन प्रेम भेटघाटका लागि सुशीलाको घरमै आई राति सँगै बसेको र बिहानै उठी जाजरकोटको रिम्ना बजार तथा रुकुम पश्चिमको चाइनाबगर बजार गई घुमफिर गरेर साँझ पुनः सुशीलाकै घरमा आएका थिए। त्यस रात १२ बजेतिर सुशीलाले आफूहरूको सम्बन्धका बारेमा घरमा र गाउँघरका मानिसहरूले थाहा पाइसकेको भन्दै विवाहको प्रस्ताव गरेपछि घटना घटेको अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलको भनाइ छ।
प्रेमले सुशीलालाई विवाह गर्न सक्ने अवस्था नभएको भन्दै मार्ने मनसायका साथ फलामको तावा, सिलौटो, लोरोलगायतका घरेलु औजार हान्नुका साथै सलले घाँटी बाँधी थिचेर हत्या गरेको खुलेको पुलिसले जनाएको छ। पुलिसले घटनास्थलबाट रगत लागेको फलामको तावा, सिलौटो, लोरो, बांगिएको चम्चा बरामद गरेको थियो। आरोपीको घरबाट मृतक सुशीलाको मोबाइलसमेत बरामद भएको छ। हत्या आरोपीलाई आइतबार नै रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पुलिस हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पोखरेलले जानकारी दिए।










