सिलगढी: सिलगढी जलपाईगढी विकास बोर्डका अध्यक्ष सौरभ चक्रवर्तीले विधान मार्केटका व्यापारीहरूको समस्या समाधान गर्ने आश्वासन दिएर चुनाव अभियान शुरु गरे। जलपाईगढी, अलिपुरद्वार, कोचबिहारमा प्रचार गरेपछि उनले सिलगढीमा तृणमूल उम्मेदवारको समर्थनमा प्रचार गर्न थाले। यहाँ, सिलगढी विधान मार्केट व्यवसाय समितिले पसलको स्वामित्वको अधिकारको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ। लामो आन्दोलनपछि पनि आफ्ना माग पूरा नभएपछि व्यवसायीका माग पूरा गर्न केही दिनअघि शहरमा बाइक मार्च निकालिएको थियो। पछि, तृणमूल नेता सौरभ चक्रवर्तीले भने, ‘चुनाव सकिएसँगै व्यापारीहरूको मागहरू स्वीकार गरिनेछ।‘ बिहीबार चुनावी अभियानको शुरुवातमा उनले बिधान मार्क व्यापारी संघलाई भेटेर भोट हाल्न आग्रह गरे। उनले व्यापारीको समस्या आफूले मात्रै समाधान गर्ने बताए। त्यसैले आफ्नो उम्मेदवारलाई भोट गरी जिताउन उनले आग्रह गरेका छन्।










