विधानसभामा दार्जिलिङका विधायक नोमन राईले पहाडको विद्यार्थीहरूको हितका निम्ति प्राथमिक पाठशालाहरूको भौतिक संरचना निर्माणमा जोड दिनु पर्ने मांग

IMG-20260722-WA0086

दार्जिलिङ: पश्चिम बंगाल विधानसभाको मनसुन सत्रलाई सम्बोधन गर्दै दार्जीलिङका विधायक नोमन राईले पहाडको विद्यार्थीहरूको हितका निम्ति प्राथमिक पाठशालाहरूको भौतिक संरचना निर्माणमा जोड दिनु पर्ने मांग गरेका छन्। यसका साथै उनले लामो समयदेखि थातिमा रहेको पहाडका ३१३ जना शिक्षकहरूको पनि समस्या समाधान गरेर विद्यालयमा विद्यार्थीहरूको शैक्षिक व्यवस्था सुचारू गरिनु पर्ने बताए। पहाडमा शिक्षक भर्तीको निम्ति कुनै कमिशन हालसम्म सञ्चालन नभएको हुँदा धेरै योग्य युवाहरूमा उदासीन भावना उत्पन्न भइरहेको कारण चाँडै नै शिक्षक भर्ती व्यवस्था बहाली गरिनु पर्ने माग राखे। उनले पहाडका विभिन्न चिया बगान श्रमिकहरुको निम्ति पनि सरकार प्रतिवद्ध रहनुपर्ने बताउँदै लङभिउँ चिया श्रमिकहरुका समस्या चाँडै नै समाधान गरिदिने माग राखे। उनले जी टी ए ले पहाडको जनताको आकांक्षा पूरा नगरेको अनि यसमा पारदर्शिता नभएको बताए। उनले प्रधानमन्त्री आवास योजनाको पनि स्वागत जनाउँदै योग्य लाभार्थीहरुले उक्त लाभ ग्रहण गर्नु पर्नेमा पनि राज्य सरकारको तर्फबाट कार्यन्वयन गरिनु पर्ने माग गरेका‌ छन्। यसको साथै अन्नपूर्ण योजनामा पनि योग्य लाभार्थीहरुले चाँडै यसको लाभ उठाउन सक्ने पहल गरिनु पर्ने माग गरे। यसका साथै उनले पहाड, तराई डुवर्सवासीको दीर्घकालीन माग स्थायी राजनीतिक समाधान पनि केन्द्र सरकार, राज्य सरकार तथा सरोकारवालाहरुसंग समन्वय गरी चाँडै कार्य गरिनु पर्ने माग राखेका छन्।

About Author

Advertisement