बिजनबारी: बिजनबारीस्थित विद्यासागर उच्चतर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको आज भूमि पूजन गरेर जीटीए प्रमुख कार्यपाल अनित थापाले आधिकारिक रूपमा भवनको शिलान्यास गरेका छन्।
शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै अनित थापाले भने, “हिजोको दिनमा काम पारित हुनु अघि नै नरियल फुटाउने तर काम चाहिँ नहुने किसिमको एउटा चलन थियो। त्यो हामीले बन्द गरेका छौं। जबसम्म योजना फाइनान्स विभागबाट पारित भएर आउँदैन तबसम्म काम शुरु गर्ने छैनौं।”
सरकारको पैसा राम्रोसंग चलाउनु सकियो भने हामी धेरै स्कूलहरु बनाउनु सक्छौं भन्दै उनले भने, ” तर एउटा स्कूल होटल जस्तो अर्को कुखुराको खोर जस्तो हुनु भएन। ठाउँ हाम्रो हो, मान्छे हाम्रै हो। हाम्रो मान्छेको निम्ति राम्रो काम गर्नुपर्छ।”

पहाडको विकास नै आफ्नो प्रमुखता रहेको बताउँदै उनले भने, “पहाडलाई भत्काउने हामी आफै हौं। बंगाल अनि दिल्लीलाई दोष दिनु भनेको हाम्रो आफ्नो असफलता अनि कमजोरी लुकाउनु हो। पहाडलाई शान्तिले मात्र हुँदैन अब समृद्धि पट्टी लाग्नु पर्छ। अब पञ्चायती व्यवस्था पहाडमा आउनेछ। हाम्रो आफ्नै मान्छेले गाउँको व्यवस्थापन गर्नु पाउनेछन्। बुद्धि छ भने सबै कुरा आउँछ। त्यसैले स्कूल भवन निर्माण भएपछि सरस्वतीको मूर्ति स्थापना गर्नेछौं। विद्यार्थीहरुलाई आध्यात्मिकतातर्फ पनि लैजानुपर्छ।”
शिलान्यास कार्यक्रममा उप प्रमुख कार्यपाल सञ्चवीर सुब्बा, जीटीए मुख्य सचिव एस पुनबलम, एम मोडक, एक्सेक्युटिव डिरेक्टर, शिक्षा विभाग, अनि अन्य सभासद्हरुको उपस्थिति रहेको थियो। त्यसरी नै विद्यार्थी, शिक्षक, बीजीपिएमका नेतृत्वहरु साथै स्थानीय पाठशालाका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।










