विशेष धावकहरू सम्मानित
खरसाङ: विकरन फाउण्डेशन दार्जिलिङको आयोजनमा आज दार्जिलिङदेखि खरसाङको महानदी रेलवे स्टेशनसम्म म्याराथनको आयोजना गरिएको छ। दार्जिलिङदेखि महानदीसम्म आयोजना गरिएको यस म्याराथनमा जम्मा ४५ जनाले भाग लिएका थिए। उक्त म्याराथन दार्जिलिङबाट बिहान ५ बजे शुरु गरिएको थियो भने खरसाङको महानदी रेलवे स्टेशन आईपुग्दा बिहानको १० बजेको बताइएको छ। महानदीमा आइपुगेपछि महानदी बजारको सार्वजनिक भवनमा विकरन फाउण्डेशनको आयोजनामा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा विकरन फाउण्डेशनको तर्फबाट सहभागीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। त्यसरी नै स्पेसियल रूपमा बंगलोरमा १८८ किलोमीटरको रनमा सहभागी सुनिता सुब्बा, सिक्किमको म्याराथन म्यान अमर सुब्बा जसले बंगलोरमा आयोजित १८८ किलोमीटरको रनमा भाग लिएका थिए अनि लेफ्टिनेन्ट कर्णल वर्षा राई जसले श्रीनगरदेखि रुद्राक्षसम्म कारगिल बिजय दिवसको अवसरमा १६० किलोमीटर कुदेका थिए उनीहरूलाई विकरन फाउण्डेशनको तर्फबाट सम्मान जनाइएको थियो। उक्त कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, विकरन फाउण्डेशनको संस्थापक बिक्रम राई, पञ्चायत समिति सदस्यहरू सरिता मुखिया र कुसाङ लामा, पञ्चायत सदस्यहरू सुदेशना लेप्चा र सजित दर्नाल लगायत अन्यहरू उपस्थित रहेका थिए।

कार्यक्रमलाई अतिथहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा सम्मान जनाएकोमा म्याराथन म्यान अमर सुब्बा अनि अन्यले विकरन फाउण्डेशनलाई धन्यवाद दिएका छन्।











