विभिन्न सामाजिक कार्यहरु आयोजना गर्ने निर्णय
खरसाङ: वाणीश्री कल्याण समितिको साधारण सभा गोर्खा जनपुस्तकालय खरसाङको डा पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको छ। उक्त सभालाई समितिकी अध्यक्षा पासाङ लक्की शेर्पाको अध्यक्षता र सह सचिव हनोक थापाको सञ्चालनमा सम्पन्न भएको छ। सन् १९९२ मा नै स्थापना भएर पञ्जीकृत संस्था बनिसकेका वाणीश्री कल्याण समितिलाई पुनः सिर्जनात्मक रुपमा र विभिन्न क्रियाकलाप, सामाजिक कार्यहरु गर्दै नौलो र क्रियाशील रुपमा अघि लाने उद्देश्यको साथमा उक्त साधारण सभाको आयोजना गरिएको छ। सभामा सह सचिव सबिता छेत्रीले स्वागत सम्भाषण राख्दै वाणीश्री कल्याण समितिको तर्फबाट आगामी दिनमा आयोजना गरिने विभिन्न विषयमा जानकारी गराउँदै वक्तव्य राखेकी थिइन्। सभामा मूल सचिव सिल्भेष्टर लेप्चाले वाणीश्री कल्याण समितिको नयाँ कार्यकारी समिति आएपछि गरिएको विभिन्न कामहरु र सहभागिता साथै आगामी दिनमा गरिने विभिन्न कार्यक्रमहरु र कार्यहरु विषयमा जानकारी गराउँदै वक्तव्य राखेका थिए। सभामा कोषाध्यक्षा चित्र आलेले वाणीश्री कल्याण समितिको सम्पूर्ण आय व्ययको विवरण प्रस्तुत गरेकी थिइन्। उनले सम्पूर्ण सदस्य सदस्यहरुलाई समयमा नै आफ्नो मासिक शुल्क बुझाईदिने अनुरोध गर्दै वाणीश्री कल्याण समितिले आगामी दिनमा गर्ने विभिन्न कार्यक्रमहरू विषयमा जानकारी गराएका थिए। सभामा विभिन्न विषयमा चर्चा परिचर्चा गर्दै विभिन्न विषयमा प्रस्ताव पारित गरिएको छ। सभाको निर्णय अनुसार आगामी दिनमा सिटोङ क्षेत्रमा वृक्ष रोपणको कार्य गरिने साथै खरसाङ क्षेत्रमा रहेका कुनै एउटा गाउँमा मेडिकल क्याम्पको पनि आयोजना गरिने भएको छ। यसको साथै आगामी दिनमा वाणीश्री कल्याण समितिको तर्फबाट चिल्ड्रेन होममा गलत सहयोग गर्ने, विभिन्न सामाजिक कार्यहरु जस्तै सर सफाई पनि आयोजना गर्ने निर्णय गरिएको छ। सभाको निर्णय अनुसार वाणीश्री कल्याण समितिको कतिवटा नियमहरु पनि बनाइएको छ जसलाई हरेक सदस्य सदस्याहरुले पालन गर्नु पर्ने भएको छ। यसको साथै आगामी दिनमा वाणीश्री कल्याण समितिको आफ्नै मुखपत्रको रुपमा एउटा पत्रिका प्रकाशन गर्ने निर्णय गरिएको छ। सभामा आगामी दिनमा कवि गोष्ठी र सांगीतिक कार्यक्रमहरु पनि आयोजना गर्ने निर्णय गरिएको छ। सभामा उपस्थित सदस्य सदस्याहरुले विभिन्न सल्लाह र सुझावहरु पनि राखेका थिए। सभालाई उप सभापति दिछेन तामाङले छोटो वक्तव्य राखेका थिए भने सभाध्यक्ष पासाङ लक्की शेर्पाले अध्यक्षीय सम्बोधन राखेका थिए।











