खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) का अध्यक्ष अनित थापा तक्लिङ पेसोक समष्टि अन्तर्गत बडा मङमायामा समष्टिको सांगठनिक कार्यक्रममा उपस्थित थिए। सभामा समष्टिको नयाँ पूर्णाङ्क समिति गठन भयो।
यस अवसरमा अनित थापाले आफ्नो राजनीतिक यात्रामा आएका उतार चढावको स्मरण गर्दै २०१३ र २०१७ को आन्दोलनदेखि गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) चुनावसम्मको बाटो कोरे। सन् २०१७ को १०५ दिने आन्दोलनका बेला सर्वसाधारण जनताले भोगेको कठिनाइलाई सम्झँदै त्यही जोखिम उठाएरै विकासको बाटोमा अघि बढेको उनले बताए।

पार्टी छोड्ने नेता-कार्यकर्ताहरूलाई सिधा प्रहार गर्दै थापाले भने, विचारधारा र नैतिकताबिनाको राजनीति टिक्न सक्दैन। “उनीहरू सुनको अण्डा पाइन्छ भन्ने आशामा गएका थिए। तर हात रहेको दैनिक अण्डा दिने लोकल कुखुरा नै मारी पठाए।” उनको भनाइको सार यस्तै रह्यो। भाजपासँगको सम्बन्ध र आगामी चुनावको रणनीतिबारे पनि उनले चर्चा गरे अनि आफ्नो पार्टीले १ लाख ७६ हजार मत एक्लै लडेर पाएको दाबी गरे।सरकारी अनुदान योजनाहरूविशेषतः विद्युत् (७५ युनिट निःशुल्क) र एलपीजी सब्सिडीबारे उनले यी सुविधालाई जनताको अधिकारका रूपमा हेर्नुपर्ने र कसैको व्यक्तिगत कृपाका रूपमा नबुझ्नुपर्ने बताए। घर सर्वेक्षण र आवास योजना अन्तर्गत केही लाभग्राहीले पुनः प्रक्रियाबाट गुज्रनुपर्ने अवस्थामा पनि उनले टिप्पणी गरे। गोर्खाल्याण्डको मागलाई पार्टीको मूल एजेन्डा ठहर्याउँदै थापाले भने, यो “गोर्खा किपट” तुहिन दिनु हुँदैन र यसका लागि केन्द्रीय स्तरसम्म संवाद पुर्याइएको उनले जनाए। क्षेत्रीय सरकार कुनै एक पार्टीको अधीनमा नरहेसम्म स्थायित्व कायम रहने र भावी वार्ताका लागि छुट्टै समिति गठन हुनुपर्ने उनको भनाइ थियो।
सभामा पार्टीको समष्टिको पूर्णाङ्क कमिटी पुनर्गठन पनि गरियो। थापाले आगामी पञ्चायत चुनावमा उम्मेदवार छनोटमा पूर्ण समीक्षा गरिने र पार्टी विज्ञापनमुखी नभई कार्यकर्तामुखी हुनुपर्ने धारणा राखेका छन्।











