मङ्पु: मङ्पूको एउटा निजी स्कूल परिसरमा आज एउटा चितुवा देखा परेपछि स्थानीयवासीमा केही समय त्रासको वातावरण सिर्जना भएको थियो। विद्यालय भवनको पटाई मुनि चितुवा प्रवेश गरेको खबर प्राप्त हुनासाथ सिञ्चेल वन विभागका टोली साथै महानन्दा वाइल्ड लाइफको टोली घटनास्थलमा पुगेका थिए। उक्त चितुवा उद्धार अभियानमा सिञ्चेल रेञ्ज अफिसर प्रिया तामाङ्ग स्वयं अनि सुकना रेञ्जर सृजना दर्नाल अनि दार्जिलिङ एडिएफओ अनुराधा राई उपस्थित भई उद्धार कार्यको नेतृत्व गरेका थिए। वन विभागको टोलीले लामो समयसम्म सावधानीपूर्वक प्रयास गरेपछि चितुवालाई नियन्त्रणमा लिई सुरक्षित रूपमा उद्धार गर्न सफल भएको छ। घटनाका कारण गाउँवासीमा भय र त्रास उत्पन्न भए पनि कुनै मानवीय क्षति वा चोटपटक नभएको जनाइएको छ। वन विभागले स्थानीय वासिन्दालाई अनावश्यक भीड नगर्न, साँझ पख एक्लै आवतजावत नगर्न तथा बालबालिकालाई विशेष निगरानीमा राख्न आग्रह गरेको छ। हाल मङ्पू तथा छेउछाउका क्षेत्रमा चितुवाको गतिविधि बढ्दो क्रममा रहेको बताउँदै वन विभागले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ। यसको साथै जङ्गली जनावर देखिएमा आफैं नजिक जाने वा आक्रमण गर्ने प्रयास नगरी तुरुन्तै वन विभागलाई खबर गर्न अपिल गरिएको छ।

यस विषयमा उक्त स्कूलको प्राचार्य एमके छेत्रीले बिहानै कुकुरहरु भुकेको सुनेपछि गएर हेर्दा चितुवा स्कूल परिसरमा पसेको देखेर तत्कालै सामाजिक सञ्जाल वाटमएसएप्सबाट वन विभागलाई सूचना दिएको बताएका छन्। उनले यसको साथै स्कूलमा चितुवा पसेकोले विद्यार्थीहरुलाई स्कूल नआउन भनी अभिभावकहरुलाई सूचित गरेको जानकारी गराएका छन्।










