स्थानीय जनताको ऐतिहासिक सहभागिता
मङ्गन: हिमाली क्षेत्रको पर्यावरण संरक्षण तथा जैविक विविधता जोगाउने प्रतिबद्धतालाई अझ सुदृढ पार्दै सिक्किमको पर्यटकीय क्षेत्र मङ्गन जिल्लाको लाचेनस्थित लाचेन गुम्बा मार्गमा आज एक बृहत् लालीगुराँस (Rhododendron) वृक्षारोपण अभियान भव्यताका साथ सम्पन्न भएको छ।
सिक्किम सरकारका सामाजिक कल्याण, महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं दिव्यांगजन कल्याण मन्त्री तथा लाचेन-मङ्गन क्षेत्रका विधायक श्री समडुप लेप्चाको मुख्य नेतृत्वमा यो अभियान सञ्चालन गरिएको हो। कार्यक्रममा लाचेनका परम्परागत प्रमुख (पिपोन) हरू श्री छो बान्डु लाचेनपा र श्री खायचोताक लाचेनपाको विशेष उपस्थिति रहेको थियो।
वन तथा पर्यावरण विभागको सक्रिय पहलमा आयोजित यस कार्यक्रममा मङ्गनका विभागीय वन अधिकारी (प्रादेशिक) श्री मञ्जिल खरेल, सहायक वन संरक्षक (चुङथाङ) श्री नोर्देन भोटिया, रेन्ज अफिसर श्री तेन्जिङ भोटिया, ब्लक अफिसर श्री सोनाम दादुल भोटिया लगायत वन विभागका कर्मचारीहरू र ३०० भन्दा बढी स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री एवं विधायक श्री समडुप लेप्चाले सिक्किमको राज्य वृक्ष लालीगुराँसको पर्यावरणीय, सांस्कृतिक तथा प्रतीकात्मक महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले हिमाली क्षेत्रको नाजुक पारिस्थितिकीय प्रणालीलाई बलियो बनाउन, वनको दायरा बढाउन, जैविक विविधताको रक्षा गर्न, भू-क्षय रोक्न र प्राकृतिक जलस्रोतहरू जोगाउन लालीगुराँस जस्ता रैथाने प्रजातिहरूको वृक्षारोपण गर्नु अपरिहार्य रहेको बताउनुभयो।
पर्यावरण संरक्षण कुनै एक संस्थाको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री लेप्चाले लाचेनवासीको सक्रिय र ऐतिहासिक सहभागिताको खुलेर प्रशंसा गर्नुभयो। उहाँले यस प्रकारको उत्साहले स्थानीय नागरिकमा पर्यावरणप्रति बढ्दै गएको चेतनालाई दर्शाउने बताउनुभयो। विशेषगरी युवाहरूलाई रोपिएका बिरुवाहरूको संरक्षण र हेरचाह गर्ने जिम्मेवारी लिन आग्रह गर्दै उहाँले वृक्षारोपण गर्नु मात्र ठूलो कुरा नभई तिनलाई बचाएर आउँदो पुस्ताका लागि स्वस्थ वनको रूपमा विकास गर्नु नै अभियानको वास्तविक सफलता हुने स्पष्ट पार्नुभयो।

अभियान अन्तर्गत लाचेन गुम्बा सडकको दुवै किनारमा सयौँ लालीगुराँसका बिरुवाहरू रोपिएका छन्। यस अभियानले वन विभाग, स्थानीय प्रशासन र लाचेनका आम नागरिकबीच पर्यावरण संरक्षण र दिगो विकासका लागि बलियो सहकार्य र प्रतिबद्धता रहेको पुनः पुष्टि गरेको छ।










