खरसाङ: खरसाङ अन्तर्गत लङ्भ्यू चियाबारीको चिलाउनेधुरामा अवस्थित माता तीनकन्या देवी मन्दिरमा गत मङ्गलवारदेखि आयोजित तीन दिवसीय पूजा अनुष्ठानको बिहीवार समापन गरियो। यस दिन विधिपूर्वक माताको पूजा अर्चना, कन्या पूजा सहित हवनादि गरियो। पुरोहित रूप नारायण ढुङ्गेल, हरि खनाल अनि कमल दाहालद्वारा सञ्चालित यस तीन दिवसीय पूजा अनुष्ठानमा तीनै दिन स्थानीय लगायत टाढा-टाढाबाट श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो। यह तीन दिवसीय पूजा अनुष्ठान यस वर्ष पनि खूबै सफलतापूर्वक सम्पन्न हुन सकेकोमा आयोजक समितिका कोषाध्यक्ष सरद घिसिङले प्रसन्नता व्यक्त गर्दै यस पूजालाई सफल बनाउन सहयोग प्रत्यक्ष, अप्रत्यक्ष, शारीरिक, मानसिक तथा आर्थिक रूपमा सहयोग पुर्याउने सबैप्रति आयोजक समितिको पक्षबाट आभार प्रकट गरेका छन्। तिनले आज यस मन्दिरको विख्याता बढ्दै जानुको मुख्य कारण पनि सबैको साथ र सहयोगले हो भन्दै पुलिस प्रशासनदेखि लिएर सम्पूर्ण ग्रामवासी अनि टाढा नजिकका सबै सहयोगीहरूलाई उनले धन्यवाद दिएका छन्।





