(लघुकथा)            सङ्कल्प

00-1-A-1

-जीवनको अमूल्य समय तेरो सह्यार चाकरमा बित्यो छोरा!

-सन्तानलाई ठुलो पार्ने दायित्व कसको? जन्माएपछि पाल्नुपर्छ। मलाई रिस नउठाऊ है आमा! नत्र…! 

धम्की लगाएर आमालाई चुप पाऱ्यो चतुरेले। उसले रिसाउँदै मुड्कीले टेबुल ठोक्यो।  डरले आमा छोरी पटक्कै बोलेनन्। रात पऱ्यो। अलिबेरमा ओच्छ्यानमा लम्पसार पऱ्यो चतुरे। 

– आमा! दाईलाई  तिमीले बिगारेऊ। छोरीले भनिन्।

– कसरी? 

आमाले सोधिन्।

….. दाइले नशालु पदार्थ सेवन गरेको चाल पाउने पहिलो दिनै सबै कुरा गाउँ घर इष्ट मित्रलाई सुनाऊँ , सल्लाह लिऊँ, मैले भनेथ्ये, तर तिमीले पर्दैन, इज्जत जान्छ भनेऊ। लु मर अब! पुनः छोरी रिसाइन्।

– इज्जतको डर कसलाई छैन नानी! आफ्नो घरको  यो कुरो कस्लाई सुनाउनु मैले। बरु भन्दै  नभन्न निको ठाने! आमाले  सम्झाउने कोसिस गरिन्। प्रतिदिन चतुरे नशामा डुब्न थाल्यो। हिजोआज ड्रगस सेवन गर्छ अरे। कसैलाई टेर्दैन भन्छन्।  घरको पीर खप्न नसकेर  छोरी पोइल हिँडी। छोरा र छोरीको चिन्ताले र गाउँ घर इष्ट मित्रलाई मुख देखाउन लाजमर्दो परिवेश बनियो। अनि, चतुरेकी आमाले आत्महत्या गर्ने उपाय रोजिन्। दिन बित्दै थियो। गएराति उनले एक्लै नसुती बसी रहिन्। आत्महत्या गर्ने उद्देश्यले। तर, मध्यराती  घरको लैनो गाई डुक्रेको सुनेर  हतारिँदै मूल ढोका खोल्दा ऊ एक्कासी छक्क परिन्। आफ्नै छोरो चतुरेले लैनो गाई चोरेर बेच्न लखेट्दै थियो। अनि उनले रिसले ठ्याम्म ढोका बन्द गरिन्।

अलिबेरमा चतुरेकी आमाले खप्न नसकेर आफ्नो ओच्छ्यानमा लडिबडी गर्दै रोइन्। मातृवत्सल ह्रदय चररर चिरियो। अन्त्यमा, उनले आफूलाई सर्वहारा नसोचेर ‘ योग्य भोग्य बसुन्धारा’ जस्तो महामन्त्रले  नारी शक्ति जाग्रत गरेर एक्लो जीवन जिउनु सिवाए अर्को विकल्प देखिनन्।

About Author

Advertisement