अटलाण्टा: रेफरीको विवादित फसेला र दोस्रो हाफमा असाधारण पुनरागमनको साथ गत संस्करणको च्याम्पियन अर्जेण्टिनाले फिफा वर्ल्ड कप २०२६-को क्वार्टर फाइनलमा स्थान बनायो। अमेरिकाको अटलाण्टा स्टेडियममा खेलिएको चरम रोमाञ्चक र उतार-चड़ाउले भरिएको म्याचमा अर्जेण्टिनाले इजिप्टलाई ३-२-ले पराजित गऱ्यो।

म्याच चरम नाटकीय रह्यो, जसमा अर्जेण्टिना ७९औं मिनटसम्म पनि २ गोलले पछि रहेको थियो। त्यसपछि अर्जेण्टिनाले असाधारण पुनरागमन गर्दै ११ मिनटमा ३ गोल गरी म्याच जित्यो। म्याचमा शुरुदेखि नै आफ्नो वर्चस्व कायम गरे पनि अर्जेण्टिनाले जीतको निम्ति अन्तसम्म संघर्ष गर्नु पऱ्यो। यसबाहेक शुरुवाती हाफको खेलमा टीमलाई भाग्यले पनि साथ दिएन, जसमा अर्जेण्टिनाई कप्तान लियोनल मेस्सीले पेनल्टीबाट गोल गर्ने मौका पनि गुमाए। म्याचमा अधिकांश समय नै रक्षात्मक फूटबल खेल्ने इजिप्ट चाहिँ एक समय जीतको नजिक पुगिसकेको थियो तर ७९औं मिनटमा मेस्सीको पासमा क्रिस्टियन रोमेरोले हेडरद्वारा गोल गरी अर्जेण्टिनाको आशालाई जीवित राखे। त्यसको ५ मिनटपछि मेस्सीले असाधारण फूर्तिको साथ गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। अन्तमा इञ्ज्युरी टाइमको तेस्रो मिनटमा एञ्जो फर्नाण्डेजले गोल गरी अर्जेण्टिनालाई ३-२-ले जीत दिलाए। यसरी अर्जेण्टिना लगातार दोस्रो म्याचमा हार्नदेखि बाँच्यो। यसअघि राउण्ड अफ ३२-मा केप भर्डेले पनि अर्जेण्टिनालाई तिरीखिरी पारेको थियो अनि लियोनल स्कोलानीको टीमले जसोतसो जीत हासिल गरेको थियो।
यसअघि म्याचको पहिलो हाफसम्म इजिप्ट एक गोलले अघि रहेको थियो। बीच-बीचमा प्रतिआक्रमणको रणनीति अप्नाउने इजिप्टले १५औं मिनटमा यासर इब्राहिमको हेडरको माध्यमले बढ़त हासिल गऱ्यो। म्याचको पहिलो हाफमा अर्जेण्टिनाले गोल गर्ने एकाधिक मौका गुमायो। यसमा २१औं मिनटमा हासिल भएको पेनल्टी पनि सामेल छ, जसमा मेस्सीले गोल गर्न सकेनन्। उनको प्रयासलाई इजिप्टका गोलकीपरले असफल बनाए। दोस्रो हाफमा अर्जेण्टिनाले शुरुदेखि नै लगातार आक्रमण गरे पनि गोल हासिल गर्ने मामिला फेरि इजिप्ट अघि रह्यो। हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गरी ६७औं मिनटमा इजिप्टको बढ़तलाई दोब्बर पारे। दुई गोलको बढ़त हासिल गरे पनि अन्तिम समयमा दबाउलाई सहन गर्न नसक्दा अनि रेफरीको केही विवादित फसेलाले गर्दा इजिप्ट म्याचमा पराजित भयो। अब क्वार्टर फाइनलमा अर्जेण्टिनाको भिड़न्त स्विट्जरल्याण्डसँग हुनेछ। इजिप्ट ९२ सालमा पहिलोपल्ट ग्रुप चरणबाट बाहिर निस्किएर वर्ल्ड कपको नक्आउट राउण्डमा पुगेको थियो अनि टीमले एउटा जीत पनि हासिल गरेको थियो तर अर्जेण्टिनाविरुद्ध हारको साथ टीमले बिदा लियो। इजिप्टविरुद्ध गोलको साथ मेस्सी वर्ल्ड कपमा लगातार ९ वटा म्याचमा गोल गर्ने एकमात्र खेलाड़ी बनेका छन्। यसबाहेक मेस्सी वर्ल्ड कपको इतिहासमा सर्वाधिक म्याच (३१ वटा) खेल्ने, सर्वाधिक गोल (२१ वटा) गर्ने अनि सर्वाधिक ६ पल्ट वर्ल्ड कप खेल्ने खेलाड़ी पनि बनेका छन्। मेस्सीले वर्ल्ड कपमा सर्वाधिक एसिस्ट (९ वटा)-को रेकर्ड पनि बनाएका छन्। यसको साथमा उनी एउटा वर्ल्ड कपमा २ वटा पेनल्टी मिस गर्ने खेलाड़ी पनि बनेका छन्। उनले यसअघि अष्ट्रियाविरुद्ध म्याचमा पनि पेनल्टी गुमाएका थिए।










