१९ नोभम्बरः फूटबलको महाकुम्भ फीफा वर्ल्ड कप आइतवार (२० नोभेम्बर)-देखि कतरमा शुरु हुनेछ। यसपाली पहिलोपल्ट कुनै खाड़ी देशमा फीफा वर्ल्ड कपको आयोजन हुन गइरहेको छ। यस टुर्नामेण्टमा ३२ वटा देशका जम्मा ८३१ जना खेलाड़ीहरूले हिस्सा लिनेछन्। यसमा ईरानको टीममा २५ जना खेलाड़ी रहेका छन् जबकि अन्य देशहरूले अधिकतम् २६ जना खेलाड़ीको टीम चयन गरेको छ। टुर्नामेण्टमा हिस्सा लिने ८३१ खेलाड़ीहरूमा ६०८ जनाले त यूरोपमा विभिन्न लीगमा खेल्छन्। केवल सऊदी अरब र कतरका खेलाड़ीहरूले मात्र आफ्नो देशको घरेलु लीगमा खेल्ने गर्छन्। जर्मनीको क्लब बायर्न म्यूनिखमा खेल्ने १७ जना खेलाड़ीले आ-आफ्नो देशबाट कतरमा हुने वर्ल्ड कपमा हिस्सा लिनेछन्। यी खेलाड़ीहरूलाई ८ अलग-अलग देशको जर्सीमा देखिनेछ। कुनै एउटा क्लबमा खेल्ने १७ जना खेलाड़ी आ-आफ्नो देशको जर्सी लगाएर मैदानमा ओर्लिने यो एउटा नयाँ रेकर्ड हो।
म्यानचेष्टर सिटी (२०१८) र दक्षिण कोरियाको सोल आर्मी क्लब (१९५४)-को नाममा गत रेकर्ड रहेको थियो। यी क्लबहरूबाट खेल्ने १६-१६ जना खेलाड़ीले आ-आफ्नो देशबाट वर्ल्ड कप खेलेका थिए। आइतवार राति ९:३० बजी कतर र इक्वाडोरबीच खेलिने म्याचको साथ फीफा वर्ल्ड कप २०२२-को शुरुवात हुनेछ। कतरमा हुने वर्ल्ड कपमा जम्मा ३२ वटा देशको टीमले हिस्सा लिइरहेको छ। यी टीमहरूलाई ८ वटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टमा जम्मा ४८ वटा लीग म्याच खेलिनेछ अनि प्रत्येक ग्रुपबाट शीर्ष दुईवटा टीमले अघिल्लो राउण्डमा स्थान बनाउनेछ। लगभग एक महिनासम्म चल्ने यस टुर्नामेण्टको फाइनल १८ दिसम्बरमा खेलिनेछ।










