गान्ताेक: सिक्किमको रिम्बी क्षेत्रमा भएको क्षतिपछि जारी राहत तथा पुनर्स्थापना कार्यका लागि टीएनए एल्युम्नाई एसोसिएसनले २ लाख २२ हजार २ सय २२ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। एसोसिएसनका प्रतिनिधिहरूले ‘मुख्यमन्त्री राहत कोष’का लागि सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले टीएनए एल्युम्नाई एसोसिएसनको यस योगदानप्रति हार्दिक आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मुख्यमन्त्री तामाङले कठिन समयमा देखाइएको यो सद्भाव, करुणा र सामाजिक उत्तरदायित्वले प्रभावित नागरिकहरूलाई सहयोग पुर्याउन ठूलो बल पुग्ने बताएका छन्।
”अप्ठ्यारो परिस्थितिमा रिम्बीका जनताको साथमा उभिएर सहयोगको हात बढाएकोमा टीएनए एल्युम्नाई एसोसिएसनलाई धन्यवाद दिन चाहन्छु,” मुख्यमन्त्रीले भनेका छन्, “यस्ता ऐक्यबद्धताका प्रयासहरूले हामीलाई एकजुट भएर चुनौतीहरूको सामना गर्न र नयाँ आशाका साथ पुनःनिर्माण गर्न प्रेरणा दिन्छन्।”





