काठमाडौँ(नेत्र बिक्रम बिमली): प्रतिनिधिसभामा झन्डै दोस्रो तिहाइ बहुमतसहित सत्तासिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अर्को साता छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को नेतृत्वमा नयाँ सरकार गठन भएयता नयाँ दिल्लीबाट औपचारिक निमन्त्रणा पाउने लामिछाने सत्ताधारी दलका पहिलो उच्चस्तरीय नेता हुन्। भारतीय संस्थापन पक्ष र त्यहाँका कूटनीतिक विश्लेषकहरूका अनुसार नयाँ दिल्लीले लामिछानेको स्वागतमा विशेष महत्व दिने तयारी गरे पनि काठमाडौँको वर्तमान सत्ताले अङ्गीकार गरेका कतिपय वैदेशिक नीति र कूटनीतिक प्रोटोकलबारे उनीसँग चासो राख्न सक्ने देखिएको छ। प्रधानमन्त्री शाहले कूटनीतिक भेटवार्ताहरूलाई निकै सीमित तुल्याएको र वैदेशिक सम्बन्धबारे खासै धारणाहरू सार्वजनिक नगरेकाले भारतले सत्ताधारी दलका प्रमुख नेताबाट नयाँ सरकारको दृष्टिकोणबारे थप स्पष्टता खोज्ने आकलन गरिएको छ।
भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (बीजेपी) को निमन्त्रणामा हुन लागेको यो तीन दिने भ्रमण दलमा सभापति लामिछानेसँगै सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरा रहने रास्वपा स्रोतले जनाएको छ। दिल्ली बसाइका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशङ्कर र बीजेपी अध्यक्षसहितका उच्च अधिकारीहरूसँग राजनीतिक संवाद गर्ने कार्यक्रम छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले हालैको मन्त्रिपरिषद् बैठकपछि यो भ्रमण दलगत आधारमा हुन लागेको र यसको प्रधानमन्त्रीसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका थिए। तर, रास्वपाका नेताहरू भने विगतका परम्परागत शक्तिहरूभन्दा पृथक् राजनीतिक दलको सरकार बनेको अवस्थामा भारतसँगको विशिष्टीकृत सम्बन्धमा थप स्पष्टता ल्याउन यो भ्रमण उपयोगी हुनेमा विश्वस्त देखिन्छन्।
नयाँ दिल्लीस्थित नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीका कारण नेपाल-भारत सम्बन्धमा कूटनीतिक संवादको खाडल देखा परेको टिप्पणी गर्दै रविजीले दिल्ली भ्रमणका क्रममा संवादको त्यो दूरी पुर्ने प्रयास गर्न सक्ने अनुमान गरेका छन्। त्यसैगरी भारतीय सेनाका अवकाशप्राप्त जनरल अशोक मेहताले प्रधानमन्त्री शाहले कूटनीतिक प्रोटोकल भङ्ग गरेको र भारतीय विदेशसचिवलाई भेट्न अस्वीकार गरेको विषय दिल्लीमा उठ्न सक्ने औँल्याएका छन्। भारत सरकार ऐतिहासिक नजिर र कूटनीतिक सम्बन्धमा कुनै पनि परिवर्तन भएको हेर्न चाहँदैन र नेपालको नयाँ सरकारसँग कस्तो व्यवहार हुने हो भन्ने बुझ्न चाहन्छ। नेपाल-भारत सम्बन्धका जानकार विश्लेषक युवराज घिमिरेका अनुसार लामिछानेले सरकारका तर्फबाट दिल्लीमा कुनै ठोस प्रतिबद्धता जनाउन सक्ने कानुनी अवस्था नभए पनि यो भ्रमणले दुई देशबीच परिचयात्मक आदानप्रदानको अवसर दिनेछ र नेपालमा सम्बन्ध कायम गर्ने एकभन्दा बढी शक्ति र बिन्दुहरू छन् भन्ने मनोवैज्ञानिक प्रभाव पार्नेछ।









