राष्ट्रिय एकता दिवस पालन

redsapgu-1024x682.jpg

गान्तोक: आज गान्तोक छेउ पाङथाङस्थित सिक्किम सशस्त्र पुलिसको खेल मैदानमा राष्ट्रिय एकता दिवस पालन गरियो। यस कार्यक्रममा राज्यपाल गंगा प्रसाद मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। राज्यपाल प्रसादले उपस्थित सबैलाई राष्ट्रिय एकता दिवसको शपथ दिलाए। राज्यपाल प्रसादले भारतको लौह पुरूष सरदार वल्लभ भाई पटेलप्रति श्रद्धाञ्जली अर्पित गर्दै पटेलले देशलाई एकताको सूत्रमा बाध्न दिएका उल्लेखनीय योगदानमाथि प्रकाश पारे। प्रधानमन्त्रीले वर्ष २०१४ मा राष्ट्रिय एकता दिवस घोषणा गरेपछि सिक्किमा वर्षेनी सो दिवस पालन भइरहेको पनि उनले बताए।

मुख्यमन्त्रीले नशालु पदार्थको दुरूपयोग र तस्करी रोकथाममाथि विशेष बल दिए। उनले सिक्किमलाई नशालु पदार्थको तस्करी मुक्त राज्य बनाउन सबै स्तरबाट सामूहिक प्रयासको आवश्यक रहेको बताए। उनले यस्तै पहल छिमेकी राज्यहरूमा पनि हुनुपर्छ भनी बताए। उनले पुलिस विभागलाई कानून एवं व्यवस्था सुनिश्चित गर्न नियम अनि दिशानिर्देश पालन गर्न तथा कसैसॅंग पक्षपात नगर्न निर्देश दिए।कार्यक्रमलाई राज्यका मुख्य सचिव वीबी पाठक, डीजीपी ए. सुधाकर रावले पनि सम्बोधन गरेका थिए। यस अवसरमा संस्कृति विभागका कलाकार अनि विद्यार्थीहरूले देशभक्ति गीत एवं नृत्यहरू प्रस्तुत गरेका थिए।

About Author

Advertisement