केन्द्रिय शिक्षा तथा विदेश राज्यमन्त्री डा. राजकुमार रञ्जन सिंह दुई दिवसीय सिक्किम भ्रमणमा

IMG_20221031_215323.jpg

गान्तोक: केन्द्रिय शिक्षा तथा विदेश राज्यमन्त्री डा. राजकुमार रञ्जन सिंह दुई दिवसीय सिक्किम भ्रमणमा आएका छन्। तिनी भारतीय जनता पार्टीको लोकसभा प्रवास कार्यक्रम अन्तर्गत दुई दिवसीय भ्रमणमा आएका हुन्। सिक्किम आगमनमा आज बिहान रम्फूमा प्रदेश महामन्त्री भरत दुलाल, लोकसभा प्रवास कार्यक्रमका सिक्किम प्रभारी डा. राजु गिरीलगायतका पदाधिकारीहरूले स्वागत जनाए। गान्तोक आउने क्रममा मन्त्री सिंहले सिङ्तामस्थित प्रदेश कार्यालयको भ्रमण गरेर विविध जानकारीहरू लिएको विज्ञप्तिमा बताइएको छ।
यसैगरी आज साँझ मन्त्री डा. सिंहले गान्तोकस्थित पार्टी कार्यालयमा पार्टीका विधायकगण एवं पदाधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। यस अवसरमा प्रदेश महामन्त्री सुदीप प्रधान, विधायकगण डीआर थापा, राजकुमारी थापा अनि वाईटी लेप्चा, गान्तोक जिल्ला महामन्त्री साङ्गे पल्जर, विभिन्न जिल्ला एवं मण्डल कार्यसमिति सदस्यगण साथै कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बैठकमा पार्टी संगठनलाई तृणमूल स्तरमा मजबुत बनाउने एवं आगामी रणनीति अनि कार्यक्रमहरूमाथि विस्तृत रूपमा चर्चा परिचर्चा गर्दै विभिन्न स्तरको सांगठनिक समीक्षा गरियो। मन्त्री सिंहले यस क्रममा पार्टी संगठनको हितमा विभिन्न निर्देशहरू दिएका छन्। बैठकको क्रममा विधायकगणले सिक्किमको थाँतीमा रहेका विभिन्न मुद्दा साथै अन्य समसामयिक मुद्दाहरूबारे पनि केन्द्रिय मन्त्रीसित गहन चर्चा गरेका छन्।

यसअघि आज मन्त्री सिंहले सिक्किम केन्द्रिय विश्वविद्यालयमा राष्ट्रिय एकता दिवसको कार्यक्रममा सहभागिता जनाएका थिए। यस अवधि विश्वविद्यालयका कूलपति प्रो. अविनाश खरे साथै विश्वविद्यालय प्रबन्धन पक्षसँग महत्वपूर्ण बैठक गर्दै याङगाङमा निर्माणाधीन विस्वविद्यालयको प्रगतिबारे समीक्षा गरे।
यसपछि मन्त्री रञ्जन सिंहले सिक्किम सरकारी कानून महाविद्यालयको पनि भ्रमण गरे। भोलि राज्यमन्त्री सिंहले पाकिम जिल्लाका विभिन्न स्थानको भ्रमण गरेर सांगठनिक तथा आधिकारिक कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।

About Author

Advertisement