ग्लास्गो: भारतीय भारोत्तोलक राजा मुथुपाण्डीले राष्ट्रमण्डल खेलहरू २०२६-मा रजत पदक जितेर परिस्थितिहरू जति नै कठिन भए पनि अनुशासन, कठोर मेहनत र हौसलाको साथ आफ्नो सपनालाई साकार गर्न सकिने लाखौं युवाहरूलाई भरोसा दिलाए। पुरुषहरूका ६५ किग्रा वर्गमा मुथुपाण्डीले जम्मा २८६ किग्रा (स्न्याचमा १२६ र क्लीन एण्ड जर्कमा १६० किग्रा) ओजन उठाएर रजत पदक जिते। यस स्पर्धामा स्वर्ण पदक मलेशियाका मुहम्मद अजनिल बिन बिदिनले जिते, जसले जम्मा २९९ किग्रा ओजन उठाए। यसरी २८२ किग्रा ओजन उठाउने पापुआ न्यू गिनीका मोरिया बारुले काँस्य पदक जिते। राजा मुथुपाण्डीको जन्म १२ जनवरी २०००-मा तमिलनाडुको कोविलपट्टीमा भएको थियो अनि उनको वाल्यकाल अभावहरूबीच बित्यो। उनका पिता माचिसको फ्याक्ट्रीमा मजदूरी गर्थे भने माताले मिठाईको दोकानमा सफाईको काम गर्थिन्। परिवारको आर्थिक समस्याले गर्दा दुई छाक भोजनको बन्दोबस्त गर्नु पनि हम्मेहम्मे पर्थ्यो। पहिला मुथुपाण्डीका दाजुले भारोत्तोलन अभ्यास शुरु गरेका थिए। त्यसपछि मुथुपाण्डी पनि दाजुसँग जिम जान थालेका थिए। घरको जिम्मेवारीहरूले गर्दा मुथुपाण्डीका दाजुले आफ्नो सपना त्याग्नु परेको थियो। त्यसपछि उनले आफ्नो दाजु र परिवारको सपनालाई अघि बढ़ाउने जिम्मेवारी आफ्नो काँधमा लिएका थिए। मुथुपाण्डीले २०१७-मा कमनवेल्थ यूथ र जूनियर च्याम्पियनशीपमा पदक जितेर आफ्नो पहिचान बनाएका थिए। त्यसपछि केवल १८ सालको उमेरमा २०१८-को गोल्ड कोस्ट राष्ट्रमण्डल खेलहरूमा देशको प्रतिनिधित्व गर्दै उनी छैटौं स्थानमा रहेका थिए। करियरको चरममा रहँदा उनलाई ठूलो झट्का लाग्यो कारण २०१९-देखि २०२५-बीच उनले ३ पल्ट सर्जरी गराउनु पऱ्यो। पहिला देब्रे हातको कुहिनाको लिगामेण्टमा गम्भीर चोट लागेको थियो अनि पछिबाट उनले अपेण्डिक्सको पनि अपरेशन गराउनु पऱ्यो। यस अवधि उनलाई २ पल्ट डेंगू र एकपल्ट पीलिया पनि भयो, जसले उनको ओजन र फिटनेस दुवै प्रभावित भयो। खेलमा फर्किने प्रयास गर्दा राष्ट्रिय च्याम्पियनशीपको अवधि उनको देब्रे घुँड़ाको लिगामेण्टमा चोट लाग्यो अनि फेरि अपरेशन गराउनु पऱ्यो। भारतीय रेलवेमा नोकरी पाएपछि एकपल्ट त उनले खेल छोड़ने फसेला गरिसकेका थिए तर भुवनेश्वरमा स्ट्रेन्थ एण्ड कण्डीशनिंगको कोर्स गर्न आउँदा उनले अन्य खेलाड़ीहरूलाी अभ्यास गरिरहेको देखे। त्यसपछि उनी भित्र रहेको खेलाड़ी फेरि जाग्यो। प्रशिक्षक र साथीहरूका हौसलाले उनले फेरि ओजन उठाउने फसेला गरे। मुथुपाण्डीले राष्ट्रिय प्रशिक्षक विजय शर्माको मार्गदर्शनमा फेरि अभ्यास शुरु गरे अनि २०२५ राष्ट्रमण्डल भारोत्तोलन च्याम्पियनशीपमा रजत पदकको साथ असाधारण पुनरागमन गरे। त्यसपछि फरवरी २०२६-मा सीनियर नेशनल च्याम्पियनशीपमा ३०२ किग्रा ओजन उठाएर राष्ट्रिय रेकर्ड बनाउनको साथै ग्लास्गो राष्ट्रमण्डल खेलहरूको निम्ति क्वालीफाई गरेका थिए।










