गान्तोक: भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको गरिमामय एवं ऐतिहासिक सिक्किम भ्रमण सम्पन्न भएको छ। राष्ट्रपतिको यस सुखद र अविस्मरणीय भ्रमणका लागि सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्पूर्ण राज्यबासीका तर्फबाट हार्दिक कृतज्ञता एवं आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मुख्यमन्त्री तामाङले राष्ट्रपतिको गरिमामय उपस्थिति सिक्किमेली जनताका लागि ठूलो सम्मान र अगाध प्रेरणाको स्रोत बनेको उल्लेख गरे।
राष्ट्रपतिले सिक्किमको उल्लेखनीय प्रगति, शान्त एवं सौहार्दपूर्ण समाज, दिगो विकासप्रतिको प्रतिबद्धता तथा यहाँका जनताको आत्मीयता र सरलताको खुलेर प्रशंसा गरेको भन्दै मुख्यमन्त्रीले उहाँका शब्दहरूले राज्यबासीलाई थप प्रोत्साहित बनाएको बताए।
मुख्यमन्त्रीका अनुसार पर्यावरण संरक्षण, जैविक खेती, शिक्षा र समावेशी विकासका क्षेत्रमा सिक्किमले हासिल गरेका विभिन्न उपलब्धिहरूप्रति राष्ट्रपतिले जनाउनुभएको स्वीकारोक्ति र सराहना महत्त्वपूर्ण रहेको छ। यसले राज्य र समग्र राष्ट्रको हरित, प्रगतिशील एवं समृद्ध भविष्य निर्माणका लागि निरन्तर काम गरिरहने सिक्किम सरकारको सङ्कल्पलाई अझ बढी बलियो बनाएको उनले स्पष्ट पारे। सिक्किमका जनताप्रति देखाउनुभएको हार्दिक आशीर्वाद, प्रोत्साहन र स्नेहका लागि राष्ट्रपतिप्रति विशेष धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्रीले यो भ्रमण सिक्किमेली नागरिकहरूको हृदयमा सधैँ एउटा सुखद र स्मरणीय अध्यायका रूपमा रहिरहने विश्वास दिलाए। उनले राष्ट्रपतिको सुस्वास्थ्य, सुख र देशप्रतिको समर्पित सेवामा निरन्तर सफलताको हार्दिक शुभकामना समेत व्यक्त गरेका छन्।










