दिनहाटा: एक समय राष्ट्रपति पुरस्कार प्राप्त संस्था रहेको उत्तरबंग राज्यीय यातायात संस्थाको अवस्था अहिले अत्यन्त जर्जर बन्दै गएको छ। केही वर्षअघिसम्म दिनहाटाका विभिन्न मार्गहरूमा संस्थाका धेरै बसहरू सञ्चालन भइरहेका थिए, तर अहिले ती मार्गहरूमा यातायात सेवा लगभग बन्द भइसकेको छ। यसले यात्रुहरूलाई ठूलो समस्यामा पारेको छ।
संस्थाको बस सेवा बन्द भएपछि मानिसहरू निजी साना सवारीसाधनमा निर्भर हुन बाध्य भएका छन्। यात्रुहरूले राज्यको नयाँ सरकारसँग दिनहाटाका विभिन्न ग्रामीण मार्गहरूमा यातायात सेवा पुनः सामान्य बनाउन माग गरेका छन्। यी ग्रामीण मार्गहरूमा दिनहाटा–चौधुरीहाट, दिनहाटा–सिताई, दिनहाटा–गीतलदह तथा दिनहाटा–शालमारा मार्ग समावेश छन्। दिनहाटा–चौधुरीहाट सीमावर्ती मार्गमा पहिले धेरै बसहरू चल्ने गर्दथे, तर पछि सबै सेवा बन्द भए।
विशाल ग्रामीण क्षेत्रका मानिसहरू अहिले निजी साना सवारीसाधनमा निर्भर हुनुपरेको छ। संस्थाको बस सेवा बन्द भएपछि यात्रुहरूबाट बढी भाडा असुल गरिँदै आएको आरोप छ। चौधुरीहाट–काेचबिहार मार्गमा संस्थाको बस भाडा ४० रुपैयाँ थियो। करिब तीन वर्षअघि संस्थाका तत्कालीन अध्यक्ष पार्थ प्रतिम रायले स्थानीयवासीहरूको मागअनुसार दुईवटा बस सञ्चालनमा ल्याएका थिए। एउटा बस बिहान पौने नौ बजे दिनहाटाबाट चौधुरीहाट जान्थ्यो र त्यहाँबाट करिब दस बजे छुटेर दिनहाटा हुँदै काेचबिहार पुग्थ्यो।
अहिले ती दुवै बस बन्द भएपछि यात्रुहरूले ६५ देखि ७० रुपैयाँसम्म भाडा तिर्नुपरेको छ। साँझतिर निजी सवारीसाधनको संख्या घटेपछि भाडा अझ बढ्ने गरेको छ।
संस्था स्रोतका अनुसार दिनहाटा डिपोमा करिब ५५ जना चालक आवश्यक भए पनि हाल केवल ३९ जना चालक कार्यरत छन्। यसबाहेक सहायक कर्मचारीहरूको संख्या पनि आवश्यकताभन्दा कम छ। अर्कोतर्फ बसहरूको संख्या पनि न्यून छ।
चौधुरीहाट निवासी प्रदीप साहाले पहिले एउटा सरकारी बस दिनमा दुईपटक चल्ने गरेको भए पनि त्यो सेवा पनि एक वर्षभन्दा बढी समयदेखि बन्द रहेको बताए। पहिले ४० रुपैयाँमा काेचबिहार जान सकिने ठाउँमा अहिले निजी साना सवारीसाधनमा ६० रुपैयाँसम्म खर्च गर्नुपरेको उनको भनाइ छ।
साँझपख सवारीसाधनको संख्या घट्दै जाँदा भाडा पनि बढ्ने गरेको छ। बामनहाट निवासी साहेब अलीले पनि प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
उत्तरबंग राज्यीय यातायात संस्थाका दिनहाटा डिपो प्रमुख यज्ञेश्वर रायका अनुसार चालक, सहायक कर्मचारी तथा बसहरूको अभावका कारण चौधुरीहाटसहित पाँच ग्रामीण मार्गमा धेरै बस सेवा बन्द छन्। आवश्यक सवारीसाधन, चालक तथा सहायक कर्मचारी उपलब्ध भए ग्रामीण मार्गहरूमा पुनः यातायात सेवा सामान्य बनाउन सकिनेछ।











