गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मूले आज दिउँसो राजधानीको रिज पार्कस्थित अर्किडेरियमको भ्रमण गरिन्।
स्वर्ण जयन्ती मैत्रेय मंजरी परिसरमा रहेको यश अर्किडेरियमले राज्यको समृद्ध पुष्प सम्पदा र जैविक विविधता संरक्षण, पारिस्थितिक पर्यटन र दिगो पर्यटन विकासप्रति राज्यको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
दुर्लभ र स्वदेशी अर्किड प्रजातिहरूको विस्तृत विविधता रहेको अर्किडेरियमले सिक्किमको पारिस्थितिक समृद्धि र यसको प्राकृतिक सम्पदाको संरक्षणप्रति राज्यको प्रयासलाई प्रकाश पार्छ।
उक्त भ्रमणका क्रममा राष्ट्रपतिलाई सिक्किम राज्यभरि पाइने ५०७ प्रजातिका अर्किडहरूसँग परिचित गराइयो। यश भ्रमणको मुख्य आकर्षण थियो, प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नामकरण गरिएको एक अद्वितीय अर्किड प्रजाति
सिम्बिडियम ‘नमो’।
राष्ट्रपतिसँगै राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, शहरी विकास विभागका मन्त्री भोजराज राई, मुख्य सचिव आर. तेलाङ, शहरी विकास विभागका आयुक्त तथा सचिव जितेन्द्र सिंह राजे, गान्तोककी मेयर छिरिङ पाल्देन भोटिया आदि पनि उपस्थित थिए।

उल्लेखनीय छ, स्वर्ण जयन्ती मैत्रेय मंजरीको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष २०२५ मा भर्चुअल माध्यमद्वारा गरेका थिए। हालैमा, प्रधानमन्त्रीले सिक्किम भ्रमणको क्रममा अर्केडियमको अवलोकन गरेका थिए।










