‘विकसित भारत र विकसित सिक्किम’का लागि एकीकृत प्रयासमा जोड
गान्ताेक: दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रभारी राजु विष्टको उपस्थितिमा पार्टीको संगठनात्मक बैठक रानीपुलमा सम्पन्न भएको छ। बैठकमा सिक्किम प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष, महामन्त्री तथा ज्येष्ठ नेताहरूको सहभागिता रहेको थियो।
बैठकमा बोल्दै सांसद विष्टले प्रदेशको संगठनात्मक टोलीसँग अन्तर्क्रिया गर्ने, भावी प्राथमिकता र जिम्मेवारीबारे स्पष्ट धारणा बनाउने तथा पार्टी संयन्त्रभित्र समन्वय सुदृढ गर्ने महत्त्वपूर्ण अवसर मिलेको बताएका छन्। उनले पार्टीका कार्यकर्ताहरू नै भारतीय जनता पार्टीका मुख्य शक्ति रहेको उल्लेख गरे।
’विकसित भारत र विकसित सिक्किम’को संकल्पलाई साकार पार्न हरेक स्तरमा संगठनलाई थप सुदृढ बनाउँदै पूर्ण समर्पणका साथ काम गर्न भाजपा प्रतिबद्ध रहेको उनले बताएका छन्।





