राज्यकीबसूचना एवं संस्कृतिक विभागकी मन्त्री पूर्णिमा चक्रवर्तीद्वारा मङ्पु भ्रमण

b7d88644-0b54-4e66-b792-c79020e6230b

“इतिहास हाम्रो परिचय हो, यसको संरक्षणका लागि सरकार प्रतिबद्ध छ”: मन्त्री पूर्णिमा चक्रवर्ती

मङपू: पश्चिम बंगाल सरकारकी सूचना तथा सांस्कृतिक मामिला एवं पर्यटन विभागकी राज्यमन्त्री पूर्णिमा चक्रवर्तीले मङपूको ऐतिहासिक धरोहर संरक्षणसँगै पर्यटन विकास र स्थानीयवासीका लागि रोजगारी सिर्जना गर्ने दिशामा राज्य सरकारले विशेष पहल गर्ने बताएकी छन्। शनिबार मुख्यमन्त्री सुभेन्दु अधिकारीको निर्देशनमा सूचना तथा सांस्कृतिक मामिला विभागको तर्फबाट मङपू भ्रमणमा आएकी मन्त्री चक्रवर्तीले ऐतिहासिक रवीन्द्र भवनको निरीक्षण तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गरेकी थिइन्।
भ्रमणका क्रममा उनले विगतको सरकारले ऐतिहासिक धरोहर नष्ट गर्ने काम गरेको आरोप लगाउँदै वर्तमान सरकारले इतिहास र पहिचानको संरक्षणलाई प्राथमिकता दिने बताइन्।
उनले भनिन्, “विगतको सरकारले त नष्ट गर्ने काम मात्र गर्‍यो। इतिहास हाम्रो परिचय हो र यस परिचयलाई बचाउन सरकार तयार छ। हाम्रो सरकारले इतिहास र पहिचानको संरक्षणका लागि काम गर्नेछ।”
मन्त्री चक्रवर्तीले आगामी दिनमा ऐतिहासिक स्थलहरूलाई स्मारकका रूपमा मात्र सीमित नराखी आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड दिइन्। यसका लागि हेरिटेज डिपेन्डेन्ट टुरिजम तथा कल्चर डिपेन्डेन्ट टुरिजमलाई प्रवर्द्धन गर्दै स्थानीयवासीलाई रोजगारीका अवसर उपलब्ध गराउने सरकारको योजना रहेको उनले जानकारी गराइन्। उनको दुईदिने दार्जिलिङ तथा कालेबुङ भ्रमण कार्यक्रमअन्तर्गत मङपू आगमन भएको हो। भ्रमणका क्रममा उनले रवीन्द्र भवनमा सम्बन्धित अधिकारीहरूसँग भेटघाट तथा छलफल गरेकी थिइन्। उल्लेखनीय छ, विश्वकवि रवीन्द्रनाथ ठाकुर आफ्नो जीवनकालमा चारपटक मङपू आएका थिए। उनीसँग सम्बन्धित रवीन्द्र संग्रहालय तथा रवीन्द्र भवन मङपूका महत्वपूर्ण ऐतिहासिक धरोहर हुन्। यी सम्पदाको संरक्षण र पर्यटनसँग जोडेर विकास गर्न सके स्थानीय अर्थतन्त्र तथा रोजगारीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement