तत्काल अद्यावधिक गर्न सचेतना
नयाँ दिल्ली: भारतीय साइबर सुरक्षा निकाय सर्ट–इन (सीईआरटी–इन) ले ह्वाट्सएप तथा ह्वाट्सएप बिजनेसका विभिन्न संस्करणमा देखिएको सुरक्षा कमजोरीप्रति सजग रहन आग्रह गरेको छ। २६ नोभेम्बर २०२६ मा सीभीएन–२०२६–०५७६ सन्दर्भ अङ्कसहित जारी गरिएको सचेतनाले प्रयोगकर्ताका फाइल, व्यक्तिगत विवरण तथा गोपनीयतामा जोखिम पुग्न सक्ने औँल्याएको छ।
सर्ट–इन तथा ह्वाट्सएपको नोभेम्बर २०२६ को सुरक्षा अद्यावधिकअनुसार कुनै अनधिकृत एप वा प्रयोगकर्ताबाट पठाइएको विशेष किसिमको ‘अर्डर डिटेल’ सन्देशमा प्रयोगकर्ताले थिचेको खण्डमा फोनमा सुरक्षित ह्वाट्सएपका फाइल मेटिन सक्ने जोखिम रहेको छ। केही अवस्थामा सन्देश पुगेको समयका आधारमा च्याट डेटाबेससँग सम्बन्धित विवरण चुहिन सक्ने जनाइएको छ।
यस्तै, सीभीई–२०२६–४४९०८ नामक कमजोरी रिमोट–अटेस्टेशन भेरिफायरमा सर्टिफिकेट चेनको त्रुटिपूर्ण जाँचसँग जोडिएको छ। यसले हार्डवेयर सुरक्षा जाँचलाई छल्न सक्ने सम्भावना देखाएको छ। यसबाहेक एसक्यूएल इन्जेक्शन तथा बाह्य विज्ञापन–रिप्लाई यूआरएलको अधूरो जाँचमार्फत टाढाबाटै डेटामा छेडछाड गर्ने, निजी विवरण तान्ने वा सुरक्षा मापदण्ड छल्ने खतरा रहेको सचेतनामा उल्लेख छ।
यता, ह्वाट्सएपले हालसम्म यी कमजोरीको दुरुपयोग भई वास्तविक आक्रमण वा क्षति पुगेको कुनै प्रमाण नभेटिएको जनाएको छ। ट्रान्सपरेन्सी लेजरअनुसार जारी गरिएका सबै भीसीईके सर्टिफिकेटहरूले आवश्यक हार्डवेयर सुरक्षा मापदण्ड पालना गरिरहेको पनि स्पष्ट पारिएको छ।
व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा ह्वाट्सएप र ह्वाट्सएप बिजनेस प्रयोग गर्ने सबैलाई सम्भावित जोखिमबाट जोगिन गुगल प्ले स्टोर, एप्पल एप स्टोर वा ह्वाट्सएपको आधिकारिक वेबसाइटमार्फत तुरुन्तै नयाँ संस्करणमा अद्यावधिक गर्न सुझाव दिइएको छ।





