कोलकाताः लामो तनातनीपछि राज्यपाल डा. सीवी आनन्द बोसले राज्यका मुख्य चुनाउ आयुक्तको रूपमा राजीव सिन्हाको नाममा सहमति दिएका छन्। २८ मईमा निवर्तमान मुख्य चुनाउ आय़ुक्त सौरभ दास सेवानिवृत्त भएका थिए। यसपछि पश्चिम बंगाल सरकारले मुख्य चुनाउ आय़ुक्तको रूपमा राज्यका पूर्व मुख्य सचिव सिन्हाको नामको प्रस्ताव राजभवन पठाएको थियो। राज्यपालले राज्य सरकारबाट अझ् अधिक नामहरूको प्रस्ताव मागेका थिए, र पछि पठाइएको पनि थियो, आज अन्ततः राजीव सिन्हाको नाममै सहमति बनेको छ।
राज्य सचिवालय सूत्रहरू अनुसार, गत १८ मईमा राज्य सरकारको तर्फबाट मुख्य चुनाउ आयुक्तको रूपमा राजीव सिन्हाको नामको प्रस्ताव राजभवन पठाइएको थियो। तबदेखि नै राज्य सरकार र राजभवनबीच लामो तनातनी चलिरहेको थियो। अन्ततः बुधवार राज्यपालले आफ्नो सहमति दिएका छन्।









