नयाँ दिल्ली: आम आदमी पार्टी (आप) का प्रभावशाली नेता तथा राज्यसभा सांसद राघव चड्ढाले भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गर्ने घोषणा गरेपछि भारतीय राजनीतिमा ठूलो हलचल पैदा भएको छ। चड्ढासँगै अन्य ६ जना सांसदहरूले पनि पाटी छोडेर भाजपामा जाने तयारी गरेपछि ‘आप’ लाई ठूलो झट्का लागेको हो। यस घटनाक्रमलाई लिएर आम आदमी पार्टीका वरिष्ठ नेता सञ्जय सिंहले कडा प्रतिक्रिया दिँदै यसलाई ‘पञ्जाबका जनतामाथि गरिएको ठूलो विश्वासघात’ को संज्ञा दिनुभएको छ।
नेता सिंहले जनताले ठूलो भरोसाका साथ चुनेका प्रतिनिधिहरूले नै धोका दिएको आरोप लगाउनुभयो। उहाँका अनुसार, आपले पञ्जाबमा जनताका मुद्दाहरू उठाएर सत्ता प्राप्त गरेको भए पनि यस्ता निर्णयले पार्टीको छवि र जनविश्वासमा गम्भीर असर पुर्याउनेछ। यता चड्ढाले भने आफू ‘घाइते’ भएकाले झन् ‘घातक’ भएको भन्दै पार्टीमाथि नै पल्टवार गर्नुभएको छ। भाजपाले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि यो कदमले पञ्जाब र केन्द्रको राजनीतिमा नयाँ मोड ल्याउने विश्लेषण गरिएको छ।










