चार प्रवासी भारतीय ‘बिहार विश्व गौरव सम्मान’ बाट सम्मानित
नयाँ दिल्ली: न्युयोर्कस्थित भारतीय महावाणिज्य दूतावासमा बिहार दिवस २०२६ को उपलक्ष्यमा एक विशेष समारोह भव्यताका साथ आयोजना गरिएको छ। ‘बिहार फाउन्डेसन अफ युएसए’ र ‘बिहार झारखण्ड एसोसिएसन अफ नर्थ अमेरिका’ को सहकार्यमा आयोजित उक्त कार्यक्रममा बिहार मूलका चार प्रतिष्ठित व्यक्तित्वहरूलाई उनीहरूको विशिष्ट योगदानका लागि ‘बिहार विश्व गौरव सम्मान २०२६’ प्रदान गरियो। सम्मानित हुनेहरूमा विश्व बैंक समूहका जल विभागका वैश्विक निर्देशक सरोज कुमार झा, फुलक्रम डिजिटलका संस्थापक राजेश सिन्हा, एएमडीका वरिष्ठ उपाध्यक्ष हसमुख रञ्जन र सिल्वामोका मुख्य डिजिटल अधिकृत सञ्जय चौबे रहनुभएको छ।
समारोहलाई सम्बोधन गर्दै न्युयोर्कका लागि भारतीय महावाणिज्य दूत बिनय प्रधानले बिहारको ऐतिहासिक विरासत र वर्तमानको बदलिँदो स्वरूपका साथै उज्ज्वल भविष्यको चर्चा गर्नुभयो। उहाँले विश्वभरि नै बिहारका मानिसहरूको प्रभाव र उपस्थिति रहेको कुरामा जोड दिनुभयो। यसैगरी बिहारका मुख्य सचिव प्रत्यय अमृतले आफ्नो सन्देशमार्फत बिहार परिवर्तनको दिशामा अग्रसर रहेको बताउँदै राज्यको विकासमा सक्रिय योगदान दिन वैश्विक प्रवासी समुदायलाई आह्वान गर्नुभयो। कार्यक्रममा सान्ता मिश्राको पुस्तक ‘गाउँकी मिट्टी मिट्ने नही देती’ को विमोचनका साथै बिहारको गौरवमय इतिहासदेखि वर्तमानको एआई विकाससम्मको यात्रालाई झल्काउने विभिन्न सांस्कृतिक र नाट्य प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो।









