रसियासँगको सम्बन्ध र सैन्य निर्यातले सुध्रियो उत्तर कोरियाको अर्थतन्त्र, किम जोंग-उनको सत्ता झन् बलियो

df40574b-234e-410a-9783-04a448b685b2

काठमाडौँ: लामो समयदेखि गम्भीर खाद्यान्न र आर्थिक सङ्कट खेप्दै आएको उत्तर कोरियाको अर्थतन्त्रमा पछिल्लो समय सुधारका सङ्केतहरू देखिएका छन्। रसियासँगको बढ्दो सैन्य सम्बन्ध र हतियार निर्यातका कारण अर्थतन्त्रमा सुधार आउँदा उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग-उनको सत्ता पकड झन् मजबुत बनेको छ।
​दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार सन् २०२४ मा उत्तर कोरियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ३.७ प्रतिशत पुगेको छ, जुन विगत आठ वर्षयताकै उच्च हो। विज्ञहरूका अनुसार किम जोंग-उनले सत्ता सम्हालेयता उत्तर कोरियाको अर्थतन्त्र अहिले सबैभन्दा राम्रो स्थितिमा पुगेको छ।
​संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार उत्तर कोरियामा अझै पनि करिब १ करोड १० लाख मानिस (आवादीको ४५ प्रतिशत) कुपोषणबाट ग्रस्त छन्। यद्यपि, युक्रेन युद्धपछि रसियालाई गोलाबारुद र हतियार आपूर्ति गरेर उत्तर कोरियाले आफ्नो अर्थतन्त्रलाई राहत दिलाएको छ। विभिन्न प्रतिवेदन अनुसार उत्तर कोरियाले रसियालाई सहयोग गर्न करिब १५,००० सैनिक र औद्योगिक श्रमिक पठाएको छ।
​रसियाबाट प्राप्त आर्थिक, प्राविधिक र सैन्य सहयोगले उत्तर कोरियाको खानी, भारी उद्योग र मेसिनरी क्षेत्रमा उत्पादन बढाएको छ। यसका अतिरिक्त चीनसँगको व्यापार, आन्तरिक बजारमा सरकारी नियन्त्रण र अन्तर्राष्ट्रिय प्रतिबन्ध कार्यान्वयनमा आएको खुकुलोपनले पनि त्यहाँको अर्थतन्त्रलाई टेवा पुर्‍याएको छ।
​राजधानी प्योङयाङमा बिजुली आपूर्तिमा सुधार, मोबाइल एपमार्फत ट्याक्सी र खाना भिज्ने सुविधा, तथा विद्युतीय गाडीहरूको प्रयोगले त्यहाँको उपभोग्य बजार बढेको सङ्केत गर्छ। आर्थिक सुधारसँगै उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई समेत तीव्रताका साथ अघि बढाइरहेको छ।

About Author

Advertisement